
पाल्पा, तानसेनमा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी भएको छ । नेपाल नेत्रज्योति संघ र पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
कार्यक्रममा अस्पताल र अस्पताल अन्तर्गतका संस्थाहरुले आ–आफ्नो संस्थाको वार्षिक कार्यप्रगति सार्वजनिक गरेका छन् । पाल्पा लायन्स लाकोल आँखा अस्पतालका आउटरिच कोर्डिनेटर सन्तोष दर्जीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले अस्पतालमा डाक्टरको अभाव भएको, नेपाल सरकारले लागु गरेको रेफर सिस्टमले अप्ठ्यारो पारेको बताए । अस्पतालका निमित्त व्यवस्थापक जीवनाथ गैरेले करिब ३ करोड ४९ लाख ९१ हजार १ सय ७३ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उपचार केन्द्रहरुमा घाटा बजेट भएको बताए । कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टरका प्रमुख सुन्दर रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रामपुरमा स्थानीय निकाय, दाताहरुको राम्रो सहयोग र सहकार्य रहेको उल्लेख गरे । उनले भविष्यमा आँखा उपचार केन्द्रलाई अस्पतालमा परिवर्तन गर्ने तयारी भएको बताए ।
तिनाउ आखा उपचार केन्द्रका प्रमुख रमेश साहनीले उपचार केन्द्रको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक अभाव र उपकरणको अभावका कारण आँखा उपचारको काम गर्न कठिनाइ भएको भन्दै अस्पताल व्यबस्थापन समितिको ध्यानाकर्षण गराए । कार्यक्रम अस्पताल ब्यवस्थापन समितिका सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व र सचिव राजेन्द्र लिगलको सञ्चालनमा कार्यक्रम भएको थियो ।