
पाल्पा, ३१ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सदाझैं यसपटक पनि अगस्त नौ मा विभिन्न तामझामका साथ दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो । नेपालका आदिवासी जनजातिले समेत १९९५ देखि यो दिवस मनाउँदै आएका छन् । नेपालमा आदिवासी जनजातिहरूले राज्यबाट आदिवासी जनजातिको मान्यता पाएको धेरै भएको छैन । २०५४ मा जनजाति विकास समिति गठनपछि आदिवासीहरूले राज्यबाट आदिवासीको मान्यता पाएका थिए । पछिल्लो सार्वजनिक तथ्याड्ढलाई केलाएर हेर्दा विश्वको कुल जनसंख्याको ५ प्रतिशत हिस्सा आदिवासीहरुले ओगटेको देखिन्छ भने विश्वभरका गरिबहरुको कुल संख्यामध्ये १५ प्रतिशत आदिवासीहरुको भागमा परेको छ । अझ त्यसमा पनि आदिवासी महिलाहरुको अवस्था त कहालीलाग्दो नै छ । उल्लेखित तथ्याड्ढकै आधारमा आदिवासीहरुलाई अझैसम्म पनि गरिब वर्गमै गणना गर्ने गरेको देखिन्छ । आदिवासी जनजातिहरुले आफ्नो हकअधिकारका लागि धेरै लामो समयसम्म आन्दोलनलाई अघि बढाउँदै आएका छन् र पनि अहिलेसम्म उनीहरुको अधिकारको सुनिश्चितता नभएको अवस्था छ । संवैधानिक प्रावधानका रुपमा कुनै पनि जातजाति, समुदाय, वर्गलाई भेदभाव गर्नु कानुनी अपराध भनिएको छ, तर पनि सामाजिक रुपमा आदिवासी जनजातिहरुप्रति समान व्यवहार हुन नसकेको पाइएको छ ।