
पाल्पा, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन गर्ने भएको छ । बोर्डले ‘नन्ग्रेड’ पाएका विद्यार्थीका लागि पूरक अर्थात् मौका परीक्षा सञ्चालन गर्ने भएको हो । दुई विषयमा ‘नन्ग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था गरिएको छ ।
बोर्डले सोमबार प्रकाशित गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ । गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेका छन् । गत वर्षको नतिजामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । सार्वजनिक नतिजाअनुसार नियमिततर्फ तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा दुई लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको गरिएको बोर्डले जनाको छ । सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङख््या दुई लाख ८४ हजार ३०५ विद्यार्थी रहेको छ । नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजाअनुसार परीक्षामा सहभागी भएकाहरूमध्ये १३ हजार ५०२ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ५५ हजार ८९६ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए र ९४ हजार २६८ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए प्राप्त गरेका छन् ।
यसैगरी ६९ हजार ८१२ विद्यार्थीले दुई दशमलव ४१ देखि दुई दशमलव ८० र आठ हजार ९६४ विद्यार्थीले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए ल्याएका छन् । २३ जनाले भने एक दशमलव ६१ देखि दुई जिपिए ल्याए । परीक्षा वैशाख २१ गतेदेखि सुरु भएको थियो । जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी भएका थिए ।