पाल्पा (रामपुर), जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा हाइमास्ट लाइट जडान गरिएको छ । रामपुरको मुख्य क्षेत्र बेझाँड बजारमा २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएको हो ।
रामपुर नगरपालिकाको पहलमा लुम्बिनी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमार्फत ६ लाख लागतमा लाइट जडान गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । १६ मिटर उचाईको लाईट जडान गरिएको हो । यसबाट बेझाँड बजार चोक क्षेत्रका ३ सय मिटर वरपरसम्म उज्यालो हुने छ । जडान गरिएको लाईट गर्मीको समयमा साँझ ७ बजेदेखि विहान ५ बजेसम्म, जाडोको समयमा साँझ ६ बजेदेखि विहान ६ बजे सम्म र आवश्यकता अनुसार स्वचालित रुपमा बल्न र बन्द गर्न सकिने छ । “रामपुरलाई उज्यालो सहरका रुपमा विकसित गर्दै रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइट जडान गरिएको छ” नगर प्रमुख थापाले भने “हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानमा क्रमशः जडान गर्दै गइने छ ।” रातको समयमा बजार क्षेत्रमा सहज रुपमा आवत जावत गर्न र व्यापारिक सुरक्षाका लागि लाइट जडानले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित अपराधिक घटना हुन नदिन सुरक्षाको हिसाबले आवश्यक ठानेर बत्ति जडान गरिएको नगर प्रमुख थापाको भनाई छ । हाईमास्ट लाइट अग्लो पोलमा चौतर्फी उज्यालो प्रदान गर्ने प्रविधि हो । मुख्य मुख्य चोक एवं ठूला बाटोको संगम क्षेत्रमा राखिने यस लाइट फरक–फरक तरिकाले राखिएको हुन्छ । १२ मिटरदेखि १६ मिटर उचाइ भएको पोलले २५ मिटरको दुरीसम्म उज्यालो पुग्दछ । यसको फाइदा दुर्घटना न्यूनीकरणका साथै साना व्यवसायीहरू, ठेला व्यवसायी, चिया कफी बेच्नेलाई, पर्यटकीय क्षेत्रको रूपमा तथा सुरक्षाको लागि पनि महत्वपूर्ण हुने नगरपालिकाको दाबी छ ।