Shittalpati
पाल्पा जेसिजले दियो सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

पाल्पा, सामाजिक कार्यमा सक्रिय पाल्पा जेसिजले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । जेसिजले जिल्लाको  तानसेन नगरपालिका– ११ मा रहेको लिपिन्देवी आधारभुत विद्यालयमा अध्यनरत ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

जेसिजले विद्यालयमै पुगेर विद्यार्थीलाई झोला, कपी, कलम सहयोग गरेको जनाएको छ । तानसेन नगरपालिकाका नगर प्रमूख तथा जेसिजका पूर्व अध्यक्ष सन्तोषलाल श्रेष्ठ, जेसिजका अध्यक्ष जेसी विवेककाजी शाक्य, नगरपालिका प्रवक्ता तथा तानसेन–११ का वडा अध्यक्ष यादव सिं कार्की, तानसेन– १ का वडा अध्यक्ष तथा जेसिजका पूर्व अध्यक्ष जेसी सुनिल कुमार बस्याल, जेसिजका निवर्तमान अध्यक्ष जेसी अर्जुन कार्की लगायतका जेसिज पदाधिकारीहरुले बुधबार एक कार्यक्रमकाबीच विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्  ।

शैक्षिक सामग्री वितरण गर्दै नगर प्रमुख श्रेष्ठले विद्यार्थीलाई विद्यालयमा पहुँच वृद्धिका लागि जेसिजले गरेको सहयोगको चर्चा गरे । उनले यस्ता कार्यक्रम स्थानीय सरकारले आफैँ गर्नुपर्ने भए पनि सामाजिक संघसस्थाले समेत सहयोगी भूमिका खेलेर सघाइरहेको बताए । शिक्षाको पहुँचबाट कुनै पनि बालबालिका विमुख नहुने वातावरण निर्माणका लागि सबैको साथ र सहयोग रहनुपर्ने भन्दै  नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा नगर सरकारको उच्च प्राथमिकता रहेको बताए । उनले आफ्नो स्वर्गीय आमाको नामबाट विद्यालयमा ५० हजारको अक्षयकोष समेत स्थापना गरिदिने उद्घोष समेत गरे ।

 वडा अध्यक्ष तथा नगर प्रवक्ता कार्कीले शैक्षिक सामग्रीको अभावले विद्यालय जान नसक्ने बालबालिकालाई यो सहयोगले राहत पुग्ने विश्वास व्यक्त गरे । उनले अब शैक्षिक सामग्रीको अभावले हाम्रा बालबालिका विद्यालय गएनन् भनेर भन्ने ठाउँ नरहने बताए । सहयोगी निकायले गरेको सहयोगले वडालाई धेरै आर्थिक भार कम हुँदै गएको समेत अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर सारु र प्रधानाध्यापक केसरी बस्नेतले  जेसिजले विद्यार्थी र विद्यालयप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद व्यक्त गरे । जेसिजका अध्यक्ष जेसी विवेक काजी शाक्यले विशेषगरी सामुदायिक स्कुलमा अध्ययनरत विद्यार्थीहरु अति विपन्न परिवारका हुने भएकाले तिनीहरुलाई पनि अन्य बालबालिका सरह शिक्षाको पहुँचमा पु¥याउन शैक्षिक सामग्री वितरण गरिएको बताए । यसले विद्यार्थीलाई विद्यालय आउन आकर्षित गर्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि हुने उनको भनाई छ । अध्यक्ष शाक्यले भने “हामीले युवाहरुको नेतृत्व, व्यक्तित्व विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा समेत काम गर्दै आएका छौं ।” अध्यक्ष शाक्यले विद्यार्थीहरुमा नेतृत्व क्षमता विकासका तालिमहरु आवश्यक परेमा जेसिजले सहयोग गर्ने समेत बताए ।  पाल्पा जेसिजका मिडिया कोरडिनेटर सन्तोष गहतराजले जेसिजले गरेका हरेक गतिविधिहरु विपन्न, असहाय, ग्रामीण क्षेत्र लक्षित हुने गरेको बताए । सामग्री वितरण कार्यक्रम जेसिजका अध्यक्ष शाक्यको अध्यक्षता, कानुनी सल्लाहाकार जेसि महेश खनालको स्वागत, महासचिव जेसिज गणेश पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update