Shittalpati
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै

पाल्पा, आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी  नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न  स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।

हेपाटाइटिस रोग बारेको चेतना, यसको परिक्षण र उपचारमा सबैको पहुँच पुर्‍याउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । भाइरसको संक्रमणका कारण मानिसको कलेजोमा असर पुगी सुन्निनु वा काम गर्न नसक्ने अवस्थामा पुग्नु नै हेपाटाइटिस हो । हालसम्म यसका ए, बी, सी, डी र ई गरी ५ किसिमका भाइरसहरु रहेको पाईएको छ । विभिन्न किसिमका संक्रमण, असुरक्षित यौन सम्पर्क, संक्रमित आमाबाट जन्मिएको शिशुमा र सिरिन्जबाट लागु पदार्थ लिनेहरुलाई हेपाईटिस रोग लाग्ने गर्दछ । नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । यसमा हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘इ’, हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ रहेका छन् । हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ ।  हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ । भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ ।

हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ । चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र ‘इ’भन्दा बी र सीकोे सङ्क्रमण घातक हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने डब्लुएचओको अनुमान छ । विश्व स्वास्थ्य स·ठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update