
पाल्पा, यहाँको रिब्दीकोट गाउँपालिका –२ का टिकाबहादुर राना व्यवसायिक कृषक हुन् । उनले चार वटा टनेलमा टमाटर फलाउँदै आएका छन् । बारीमा उत्पादन गरेको टमाटर रानाले सहकारीमार्फत विक्री गर्दै आएका छन् ।
केही समय अघिसम्म उनले विक्री गरेको विवरण कागजमा हुने, कतिपय विवरण हराउने, दररेट र तौल समेत फरक पर्ने हुन्थ्यो तर, यतिखेर भने त्यस्तो समस्या छैन् । उनले घरमै बसेर मोबाइलबाट नै आफुले विक्री गरेको कृषि उपजको विवरण, दररेट कृषि समस्या थाहा पाउन सक्ने भएका छन् । उनले ५ सय केजी टमाटर विक्री गरिसकेका छन् । गत बुधबार रानाले विक्री गरेको २ सय ६६ केजी टमाटरको विवरण मोवाईलमा प्राप्त भयो । रानाले भने, “हामीले तरकारी विक्री गर्दा एउटा दररेट हुन्छ, पैसा लिने समयमा दररेट फरक भइदिन्थ्यो,कहिलेकाही हामीले पनि विवरणहरु विर्सने भएकोले समस्या हुन्थ्यो तर अहिले मोवाइलमै सबै कुरा थाहा पाउन थालिएको छ ।” रिब्दीकोट –२ कै तेजबहादुर रानाले पनि मिलनसार सहकारीलाई ५० केजी टमाटर विक्री गरे । विक्री गरेको केही क्षणमै खरिद गरेको विवरण मोवाईलमा आयो । रानाले यस अगाडि पनि तरकारी विक्री गर्दै आएका थिए । तर खरिद विक्रीको विवरण कागजमा हुने गर्दथ्यो । तर अहिले ५० केजी टमाटर ५० रुपैयाँको दरले ५ हजार रकम लिन सहकारीमा आउनुहोला भन्ने मोवाईलमा सन्देश आएपछी भने राना द· छन् ।
उनीहरु जस्तै यहाँका धेरै कृषकहरुलाई सामाजिक उद्यमी महिला सहकारीहरुको छाता संगठन सेवा नेपाल र जियो कृषिको साझेदारीमा सञ्चालन गरिएको जियोकृषि सेवा मोवाईल एप्लिकेशन मार्फत सेवा लिन थालेपछि सहज भएको छ । संकलन गर्ने प्रतिनिधि, भुक्तानी दिने सहकारी र विक्री गर्ने कृषकहरु सबैलाई एकै साथ विवरण प्राप्त हुने र लामो समयसम्म रेकर्ड पनि सुरक्षित हुने भएकाले उनीहरु जस्तै अधिकांस कृषकहरुलाई यो प्रविधिले सहज बनाएको हो । कृषकहरुले तानसेन –१३ बौघागुम्हामा रहेको मिलनसार सहकारीले तानसेनको होलाङ्दीबाट सञ्चालन गर्दै आएको प्रशोधन केन्द्र मार्फत विक्री गर्दै आएका छन् । सहकारीले गाउँ–गाउँबाट संकलन गरेको तरकारी प्रशोधन गरी तानसेन, बुटवल, स्याङ्जा हुँदै पोखरा सम्म विक्री गर्दै आएको छ । जसले तरकारीको कारोबारलाई डिजिलाईजेसन गरेको छ । सहकारीका प्रतिनिधिहरु तरकारी संकलन मोवाईल एप्स मार्फत गर्दछन्, जसको विवरण विक्री गर्ने कृषक र सहकारी दुवैलाई प्रदान हुन्छ । कृषकले जियो कृषि सेवामा आफ्नो उत्पादनलाई रेर्कड राख्न सक्ने र सहकारीका प्रतिनिधिहरुले उनीहरुको उत्पादनलाई खरिद गर्न सक्ने हेफर ईन्टरनेशनल नेपालका डिजिटल सहजकर्ता विष्णु घिमिरेले बताए ।
ग्रामीण कृषकको पहुँचमा डिजिटल प्रविधि पु¥याएर उनीहरुलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको उनको भनाई छ । यसले गाउँघरका किसानलाई सीप र ज्ञान प्रदान गर्ने र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने घिमिरेले बताए । हेफर ईन्टरनेशनलको सहयोगमा ग्रामिण आर्थिक विकास संघ रेडामार्फत एलएएलभिसी परियोजना सञ्चालन भएको छ । परियोजनाले तानसेन, रिब्दीकोट, पूर्वखोला, रम्भा र निस्दी गाउँपालिकामा तरकारी उत्पादन र बजारिकरणमा काम गर्दै आएको छ । परियोजना क्षेत्र तथा अन्य क्षेत्रहरुबाट समेत गरी मिलनसार सहकारीले दैनिक १० देखी १५ मेट्रिक टन तरकारी खरिद गरी विक्री गर्दै आएको छ ।
“तरकारीको कारोवार कागजमा मात्रै गर्दा, रेकर्ड राम्रोसँंग नहुने, दररेट फरक पर्ने गर्दथ्यो ।” सहकारीका अध्यक्ष कमला भण्डारीले भनिन्, “एप्स मार्फत डिजिटल रेकर्डले सबै पक्षलाई फाईदा पुगेको छ । पारदर्शी हुनुको साथै बजार व्यवस्थापन र योजना निर्माणको लागि समेत सहयोग पुगेको छ ।” जियोकृषि मोवाईल एप्लिकेशन हो । यसले कृषकहरुलाई कृषि तथा पशुपालन सम्बन्धी जानकारीहरु, नजिकको बजारको तरकारी दरभाउ, मौसम सम्बन्धी जानकारी, बाली तथा पशु स्वास्थ्य समस्यालाई डिजिटल परामर्श, कृषि सामग्रीहरुको डिजिटल खरिद लगायतका सुविधाहरु प्रदान गर्दै आएको छ । यसको लागि आर्थिक र प्राविधिक सहयोग हेफर ईन्टरनेशनल नेपालले गरेको हो । हेफरका ईनोभेसन प्रमुख ताराप्रसाद पन्थीका अनुसार ७० बढी सहकारीहरुका सदस्यहरुलाई डिजिटल सेवामा पँहुच पुर्याउन जियोकृषि सेवामार्फत सहयोग गर्दै आइएको छ । सहकारी र यसका सदस्यहरुलाई जियोकृषि मार्फत प्रविधिसँग जोडिएको छ । प्रमुख पन्थीले भने“ कृषि तथा पशुपालनको डिजिटल सेवाको साथै सहकारीको सेवा समेत मोवाईलबाटै प्राप्त गर्न सुरु गरिएको छ । पाल्पामा सुरु भएको सहकारीको तरकारी कारोबारलाई डिजिटाईज गर्ने कार्य दाङ, धादिङ र रौतहटका सहकारीहरुमा पनि सुरु गरिने छ । ” सहकारीहरुको कारोबारलाई अनलाईन सिस्टम गर्ने र कृषकहरुबाट खरिद गरिएको उत्पादनलाई अनलाईन भुक्तानी दिने गरी तयारी गरिएको उनको भनाई छ ।