
पाल्पा, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।
संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ । नेपाली साहित्यको जग बसाउने अर्थात प्राथमिक कालका विशिष्ट क्षमता र प्रतिभा भएका तिनै भानुभक्त आचार्यको जन्म पिता धनन्जय आचार्य र माता धर्मावतीदेवीको कोखबाट भएको थियो । पिता धनञ्जयको जागिरे भएकोले भानुभक्तको हेरचार र शिक्षा उनकै बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । जसरी नेपाल एकीकरणको सन्र्दभमा पृथ्वी नारायण शाहले बाइसे र चोबिसे राज्यमा बिभाजन भएको नेपाललाई एकीकरण गरेर विशाल राष्टको निर्माण गरे त्यसरी नै आदिकवि भानुभक्त आचार्यले छरिएर रहेको नेपाली भाषालाई एकीकरण गरे । नेपाली साहित्यका माध्यमबाट लोकहित गर्दै सहज रूपमा समाज सुधारका सुरिलो स्वर सुसेल्दै आप्mना मनका भावना आज लाखौ नेपाली माझ पस्किएका छन् । नेपाली भाषाप्रति अगाध माया अपूर्व सेवा गरेवाफत नेपाली भाषा साहित्य संसारले उनलाई कहिल्यै विर्सन सक्दैन् । किनभने आधुनिक नेपाली भाषाको जति विकास भएको भए पनि सुरुमा नेपाली अक्षर चिनाउने र नेपाली भाषाको बाणीमा पहिलो प्राण भर्ने गुरु भानुभक्त आचार्यको क्रणबाट नेपाल र नेपाली कहिल्यै मुक्त हुन सक्दैन् ।
‘जन्मिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित भएका थिए । ‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि भानुभक्तले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा उनको ऐतिहासिक योगदान रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट आचार्यबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । भानुभक्तको निधन वि.सं १९२५ असोजमा भएको थियो ।।