Shittalpati
श्रीनगर सामुदायिक वनमा रोपियो लालीगुराँस

पाल्पा, श्रीनगर एकीकृत पर्यटकीय सामुदायिक वन क्षेत्रमा लालीगुँरासका बिरुवा रोपिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय तानसेन नगर महासङ्घको आयोजनामा सुशिल बस्याल “राष्ट्रप्रेमी” ङ्घारा सञ्चालित ‘एक घर, एक लालीगुँरास’ अभियान अन्तर्गत यहाँ लालीगुँरासका बिरुवा रोपिएको हो ।

तानसेनलाई पर्यटन विकासमा अग्रसर गराउने उद्देश्यले “एक घर, एक लालीगुँरास” अन्तर्गत वनमा लालीगुराँस रोपिएको नगर महासङ्घकी अध्यक्ष भवानी गौतमले बताइन् । राष्ट्रिय फुलको रुपमा रहेको लालीगुराँसमार्फत वनलाई  सुन्दर बनाई पर्यटकहरु आकर्षण गर्न यो अभियान महत्वपूर्ण हुने उनको  भनाई छ ।  गुराँस रोप्न त्यहाँका पुगेका डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण देव भट्टराईले लालीगुँरास सामुदायिक वन संरक्षण र वातावरण सन्तुलनका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । वातावरण अभियन्ता लक्ष्मी ज्ञवालीले लालीगुँरासले नगरलाई मात्र नभई मानिसको सोच र जीवनशैलीलाई पनि हरियाली र सकारात्मकतासँग जोड्ने बताइन् । राष्ट्रप्रेमी अभियन्ता सुशील बस्यालले लालीगुँरासलाई राष्ट्रिय एकता र पहिचानको प्रतिकका रूपमा चिनाउँदै “एक घर, एक लालीगुँरास” अभियानले देशभर हरियाली र चेतना फैलाउने काम गरिरहेको  बताए । उनले तानसेनलाई हरित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सामुदायिक सहकार्य नै प्रमुख आधार भएको उल्लेख गरे । कार्यक्रममा सहभागी वक्ताहरूले बस्यालको अभियानलाई खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा जिल्ला महासङ्घका प्रतिनिधिहरूको समेत सहभागीता रहेको थियो । श्रीनगर भ्यु टावर परिसरमा उपभोक्ता समूहका सदस्यहरूको सक्रिय सहभागितामा लालीगुँरासका बिरुवा रोपिएको थियो । आगामी दिनमा पनि वनमा अन्य वृक्षारोपणहरु पनि गर्दै जाने श्रीनगर सामुदायिक वन समूहकी अध्यक्ष बालकुमारी थापाले बताईन् । कार्यक्रम नगर महासङ्घ अध्यक्ष भवानी गौतमको अध्यक्षतामा, महासङ्घका सदस्य सिर्जना खड्काको स्वागत, सह–सचिव दुर्गा नेपालीले सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update