
पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा चालु र पुँजीगत गरी ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको हो ।
यो गत वर्षको तुलनामा ६ दशमलव ३१ प्रतिशतले बढी वित्तिय प्रगति भएको नगरपालिकाका लेखा शाखा प्रमुख सीता न्यौपानेले जानकारी दिइन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ८१ प्रतिशत वित्तीय प्रगति भएको थियो । चालु आर्थिक वर्षमा नगरपालिकाले कुल ७४ करोड ११ लाख ४ हजार वजेट विनियोजन गरेको थियो । जसमा ६४ करोड ७१ लाख ४ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको छ । कुल बजेटको ८७ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए । त्यसैगरी चालु आर्थिक वर्षमा पूँजीगत तर्फ १९ करोड १९ लाख १० हजार बजेट विनियोजन भएकोमा १५ करोड १६ लाख ३४ हजार ५ सय ७४ खर्च भएको छ । पूँजीगततर्फ यो खर्च रकम ७९ दशमलव ०१ प्रतिशत हो । त्यसैगरी चालु बजेटतर्फ रामपुर नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६ दशमलव ४८ खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा रामपुर नगरपालिकाको वित्तिय प्रगती ९० दशमलव २२ प्रतिशत हो । यो आर्थिक वर्षमा ३ सय ८९ वटा विभिन्न योजनाको काम सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । नगरपालिकाको ४ सय ३ वटा योजना रहेकोमा १४ वटा योजना सम्पन्न नभएको जसमध्ये ९ वटा सम्झौता नभएको र ५ वटा सम्झौता भएर पनि काम नभएको उनले बताए । ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै शुरु भई सम्पन्न भएका कारण यस वर्ष वित्तिय प्रगति गत वर्ष भन्दा बढी भएको प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताए ।
नगरपालिका भित्र सञ्चालन हुने योजनाहरुको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक बाल कुमारी थापाको भनाई छ । साथै पटक पटकको अनुगमनले सञ्चालन भएका कार्यक्रम तथा योजना प्रभावकारी र गुणस्तरीय रहेको उनले बताइन् । नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविर मार्फत योजना सम्झौता,खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वडा÷वडा मै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमण बहादुर थापाले बताए । योजना कार्यान्वयनका लागि सहजिकरण गरेका कारण पनि ठेक्कामार्फत भएका योजना सहज रुपमा समयमै सम्पन्न भएको उनको भनाई छ ।