Shittalpati
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त

पाल्पा, नेपाली काँग्रेस पाल्पाले  काँग्रेसका पूर्व सह–महामन्त्री एवं  पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको सोमबार अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।

काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्व. रेग्मीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने पार्टीले जनाएको छ । “नेपालको प्रजातान्त्रिक आन्दोलनका जीवित साक्षीको अवसान अवश्य पनि अपूरणीय क्षति हो । दुःखको यस घडीमा स्वर्गीय अच्युतराज रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं” शोक विज्ञप्तिमा भनिएको छ ।

पाल्पाको तानसेन नगरपालिका –२ मेहलधारामा जन्मिका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए । २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालको पाल्पा क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनी अत्याधिक मतका साथ विजयी भएका थिए । पछि पञ्चायतमा प्रवेश गरेका रेग्मी मन्त्री समेत बने । उनका तीन छोरी, एक छोरा र श्रीमति रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update