
दाङ, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले बजेट पारित गरेको हो ।
बैठकमा आर्थिक तथा योजनामन्त्री धनेन्द्र कार्कीले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । मन्त्री कार्कीले प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गर्न सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रदेशसभाको ध्वनि मतमा हुन्छ भन्नेको बहुमत पुगेपछि सभामुख घर्तीले आगामी आवको बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् । बजेटको विपक्षमा प्रमुख प्रतिपक्ष दल माओवादीका ११ जना प्रदेशसभा सदस्यले हुन्न भन्ने मत दिएका थिए । जसपा, लोसपा, जनमोर्चा र नेकपा एकका प्रदेशसभा सदस्य मौन बसेका थिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । बजेटमा मुख्यमन्त्री, आर्थिक मामिलामन्त्री र प्रदेशसभा सदस्यकै महत्वपूर्ण योजनाहरु छुटेको भन्दै असन्तुष्टि बढेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्य, कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र आर्थिक मामिलामन्त्रीले छुटेका योजनालाई प्रदेशसभा बैठकबाटै पारित गरेर बजेटको व्यवस्थापन गर्ने सहमति गरेपछि मंगलबारदेखि बजेटमाथिको छलफल सुरु भएको थियो । मंगलबार र बुधबार गरी चार वटा बैठक बसेर बजेटमाथि छलफल गरेपछि बुधबार बजेट बहुमतले पारित गरिएको हो ।