Shittalpati
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

तानसेन (पाल्पा), सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको हो ।

बुधबारदेखि ‘इन्भर्ट’ निर्माणको सबै काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इन्जिनीयर सविता ज्ञवालीले बताइन् । उनले भनिन् “‘इन्भर्ट’ निर्माणको काम आजदेखि सकिएको छ । अब हामी लाइनिङको काम धमाध अगाडि बढाइरहेका छौं ।” अहिलेसम्म लाइनिङको काम ८ सय ३४ मिटर सकिएको इन्जिनियर ज्ञवालीको भनाई छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको अहिलेसम्मको समग्र भौतिक प्रगति ५६ दशमलव ३ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले अहिले गति लिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १ सय २६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update