Shittalpati
पाल्पामा एसइई नतिजाको उत्साह

पाल्पा, यस वर्षको एसइई परीक्षाको नतिजा प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुले र्‍यालीसहित उत्साह मनाइरहेका छन् । केही विद्यालयहरुको नतिजा भने विगतको भन्दा सन्तोषजनक नरहेको पाइन्छ । केही विद्यालयको नतिजा सन्तोषजनक नरहे पनि अधिकासंको नतिजा भने राम्रै रहेको छ । समग्रमा हेर्दा यस वर्ष पाल्पाको नतिजा उत्साहजन नै रहेको राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा देख्न सकिन्छ ।

यस पटक यहाँका दुई सामुदायिक र एक संस्थागत विद्यालयका चार छात्रा र दुई छात्रले चार जिपिए ल्याउन सफल भएका हुन् । तानसेनको न्यू होराईजन माध्यमिक विद्यालयबाट तीन जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयबाट एक जना र रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरबाट दुई जना विद्यार्थीले चार जिपिए ल्याएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका अनुसार देववाणी देववाणी संस्कृत तथा साधारण माविबाट सुलभ भट्टराई, न्यू होराईजन माविबाट दिया कार्की, कामना राना र निश्चल भण्डारी, रामतुलसी माविबाट विविशा घिमिरे र अनुजा श्रेष्ठले चार जिपिए ल्याउन सफल भएका हुन् । यसले पनि जिल्लाको नतिजा विगतको तुलनामा सुधार उन्मुख र उत्साहजन देखिन्छ ।

नतिजा आएसँगै जिल्लाका केही सामुदायिक र संस्थागत विद्यालयहरुले भने खुसीयाली मनाएका छन् । यहाँका न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूल, जनता मावि (जेभिटी) र देववाणी संस्कृत तथा साधारण माविले बाजा गाजासहित तानसेन नगर परिक्रमा गरेका थिए । उनीहरुले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उत्साजनक र्‍याली निकालेका हुन् ।

होराइजनले मनायो खुसीयाली
जिल्लामा संस्थागत विद्यालयको रुपमा रहेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । स्कूलले चार जिपिएसहित ७६ जना विद्यार्थी उत्कृष्ट बनाउन सफल भएको हो । यो विद्यालयले जिल्लामै सबै भन्दा बढी चार जिपिए ल्याई विद्यार्थी उर्तिण गराउन सफल भएको हो । यहाँबाट तीन जनाले चार जिपिए ल्याएका छन् । दिया कार्की, कामना राना र निश्चल भण्डारीले चार जिपिए ल्याएका हुन् । यहाँ परीक्षा दिएका मध्ये ९१ दशमलव ५७ प्रतिशत विद्यार्थी उर्तिण भएको प्राचार्य डाँसुराम पन्तले बताए । ८३ जना विद्यार्थीले परीक्षा दिएकोमा ७६ जना विद्यार्थी उर्तिण भएका छन् । सोमबार विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उत्साजनक र्‍याली समेत निकालेको छ । र्‍यालीमा विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकहरुले एक आपसमा खुसी साटसाट गर्नुको साथै पञ्चेबाजा बजाउदै नाचगान सहित तानसेन नगर परिक्रमा गरेका थिए । स्कुलले विगतका बर्षदेखी नै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको इमान्दारिता, लगनशीलताकै कारण स्कूल जिल्लाकै उत्कृष्ट स्कुलको रुपमा नतिजा ल्याउन सफल भएको प्राचार्य पन्तले बताए । उनले भने “हामीले विगतदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएका छौं, यस वर्ष पनि उत्कृष्टतालाई थप वृद्धि गरेका छौं, जिल्लामा ६ जना विद्यार्थीले चार जिपिए ल्याएकोमा तीन जना त हाम्रै स्कूलका विद्यार्थी छन् ।” आगामी दिनमा पनि उत्कृष्टतालाई कायम राख्दै जाने प्रचार्य पन्तले बताए ।

देववाणीले निकाल्यो र्‍याली
तानसेनस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उत्साजनक र्‍याली निकालेको छ ।

र्‍यालीमा विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकहरुले एक आपसमा खुसी साटसाट गर्नुको साथै पञ्चेबाजा बजाउदै नाचगान सहित तानसेन नगर परिक्रमा गरेका थिए । विद्यालयले चार जिपिएसहित ४८ जना विद्यार्थी उत्कृष्ट बनाउन सफल भएको छ । यहाँबाट सुलभ भट्टराई चार जिपिए ल्याएका छन् । विद्यालयबाट ६३ जना विद्यार्थी परीक्षामा सहभागी थिए । जसमा ४८ जना उर्तिण भएका हुन् । कुनै समय बन्द गर्ने अवस्थामा पुगेको विद्यालयले पछिल्लो समय उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । हाल यस विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रअ कृष्ण थापाले बताए । सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीको मेहनतका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाई छ ।

जेभिटीको प्राविधिक धारतर्फ शतप्रतिशत विद्यार्थी उर्तिण
जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले प्राविधिक धार (इन्जिनियरि) तर्फ शत प्रतिशत नतिजा हासिल गरेको छ । प्राविधिक धारतर्फ जिल्लामा शत प्रतिशत नतिजा हासिल गर्ने विद्यालय जनता मावि तानसेन मात्र रहेको विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेले बताए । यहाँ २५ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागी भएकोमा २५ जना विद्यार्थी नै उर्तिण भएका छन् ।

यसैगरी एसइई परीक्षामा एक सय भन्दा बढी विद्यार्थी सहभागी गराएर ए ग्रेड भन्दा माथी ४० प्रतिशत विद्यार्थी उर्तिण गराउने विद्यालय राष्ट्रिय शिक्षा पुरस्कारको लागि दावी गर्न पाउने नियम अनुसार जनता मावि तानसेन राष्ट्रिय शिक्षा पुरस्कारको दावी गर्ने स्थानमा पुगेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामजी पोखरेल(भोजराज)ले बताए । जनताले समग्र नतिजाको ४५ प्रतिशत ए ग्रेड माथिको नतिजा ल्याएको दावी अध्यक्ष पोखरेलले गरेका छन् । अहिले सरकारी स्तरमा देशभरीबाट राज्यको घोषित निति अनुसार एसईई परिक्षा २०८१ को नतिजामा १५ औ स्थानमा जनता मावी( जेभेटी) आएको विद्यालयका शिक्षक राम प्रसाद ढकालले दावी गरे । जनता माध्यमिक विद्यालय तानसेनबाट १२१ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएकोमा ८६ जना उर्तिण भई ७१ प्रतिशत नतिजा हासिल गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update