Shittalpati
पाल्पामा किसान महासंघले मनायो धान दिवस

पाल्पा, नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको  छ । महासंघले जिल्लाको रिब्दीकोट  गाउँपालिका– २ दम्मक भर्देवा रोपाइँ गरेर आइतबार  धान दिवस मनाइएको हो ।

किसानसँगै नेताहरुले खेतमा खुसीयाली साट्दै रोपाइँ गरेका थिए । धान दिवसको अवसरमा खेताला तथा सहभागीहरुलाई दही चिउरा, पुवा अचार खुवाएर अतिथी सत्कार गरिएको थियो । रोपाइँ कार्यक्रमको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, लुम्बिनी प्रदेश सांसद  तथा काँग्रेस पाल्पाका निवर्तमान सभापति बिरबहादुर राना, नेपाली काङ्गेस पाल्पाका उपसभापति झपेन्द्र गैरे, काँग्रेस पाल्पा क्षेत्र नं .१ का क्षेत्रीय सभापति झमनबहादुर राजमगर, महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सिना, काँग्रेसका वरिष्ठ नेता माधव नेपाल, किसान महासंघ संघ पाल्पा सभापति जगन्नाथ अर्याल लगायतका नेताहरुले खेतमा धान रोपेका थिए । धान रोप्दै काँग्रेस जिल्ला सभापति श्रेष्ठले रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

‘नयाँ प्रविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ’, उनले भने, ‘जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।’ लुम्बिनी प्रदेश सांसद विरबहादुर रानाले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणमा प्रदेश सरकारले ध्यान दिने बताए । उनले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएर काम गरेको भन्दै जबसम्म किसान आर्थिक रुपमा सक्षम हुँदैनन् तब सम्म देशको आर्थिक वृद्धि हुन सक्दैन भन्ने कुरा आत्मसाथ गरिएको उल्लेख गरे ।

स्थानीय नेता क्याप्टेन अमरबहादुर थापाको खेतमा धान रोपिएको काँग्रेस उपसभापति झपेन्द्र गहिरेले बताए । पछिल्लो समय आधुनिक प्रयोगका कारण हल गोरु विस्थापित हुँदै गएको अवस्थामा गोरुको प्रयोग गरी धान रोपिएको उनको भनाई छ ।  किसान महासंघका जिल्ला अध्यक्ष जगन्नाथ अर्यालले दमक धान खेतीको उर्वभूमी रहेको भन्दै सबै किसानलाई धानखेतीमा जोड्नकै लागि धान दिवसमा कार्यक्रम गरिएको बताए । धान रोप्ने रोपाराहरु निकै उत्साहका साथ खेतमा धान रोप्न व्यस्त थिए । उनीहरु किसान महासंघ र काँग्रेस नेताहरुसँगै धान रोप्न पाउँदा निकै खुसी देखिन्थे । 

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update