Shittalpati
पाल्पामा पनि मनाइयो मदन भण्डारीको ७४ औं जन्मजयन्ती

पाल्पा, जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती शुक्रबार पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीको जन्मजयन्तीको अवसरमा एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाएका हुन् ।

पाल्पा पनि मदन भण्डारी फाउण्डेसनले विभिन्न कार्यक्रम गरी भण्डारी जन्मजयन्ती मनाएको छ । पाल्पा अस्पतालका विरामीहरुलाई फलफुल वितरणसहित अन्तक्र्रिया गरेर मदन भण्डारीको स्मरण गरिएको फाउण्डेसन पाल्पा अध्यक्ष गुराँस आत्रेयले बताए । उनले भने “भण्डारी जनताको बहुदलीय जनवादका प्रतिपादक हुन, उनको योगदानको हामीले सधै सम्मान गर्दै स्मरण गर्ने गर्छौ, यस वर्ष जन्मजयन्तीमा  अस्पतालका विरामीहरुलाई फलफुल दिर्दै भण्डारीको योगदानको चर्चा गर्यौ ।”

सोही अवसरमा फाउण्डेसनका सदस्यहरुले पाल्पा अस्पतालको सेवा प्रवाह र नयाँ बन्दै गरेको भवनको समेत निरिक्षण गरी सेवाप्रवाह बिरामीमैत्री बनाउन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । मदन भण्डारी फाउण्डेसन पाल्पाले आउँदा दिनमा युवामैत्री डिजिटल कार्यक्रमहरु गर्ने कार्ययोजना रहेको र अहिले फाउण्डेसन सदस्यता विस्तारको क्रममा रहेको अध्यक्ष आत्रेयले जानकारी दिए ।  कार्यक्रममा नेकपा एमाले पाल्पा अध्यक्ष तथा फाउण्डेसनका पदेन संरक्षक ओमबहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो ।

madan-bhandari-1751024374.jpg
 

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार थिए । उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिद्ध नेता कमरेड मदन भण्डारीले अघि सारेको विचारले तात्कालीन नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम ग‍र्‍यो। पार्टीभित्र नयाँ जनवादको बहस चलिरहेका बेला भण्डारीले वैधानिक सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा जोड दिएका थिए । नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन ग‍रेको हो । पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन लगायत तराईको पार्टी कामको सिलसिलामा देशी बिदेशी साँठगाँठका कारण दासढुंगामा भण्डारीको सुनियोजित षडयन्त्रका साथ २०५० साल जेठ ३ गते भण्डारीको दुर्घटनामा परी मृत्यु भयो । यद्यपि, भण्डारीको अवसान आकस्मिक दुर्घटना हो वा षड्यन्त्रपूर्ण हत्या यो विषय भने आजसम्म बहसमै छ । जननेता भण्डारीको जन्म पूर्व पहाडको ताप्लेजुङमा पिता देवप्रसाद भण्डारीका माइलो छोरोका रूपमा शिक्षित परिवारमा २७ जुन, १९५२ मा भएको हो ।

भोजपुरमा पाण्डे परिवारमा जन्मिएकी विद्यादेवी भण्डारी मोरङमा अध्ययनका साथै पार्टीको काम गर्थिन् । विद्या विद्यार्थी संगठन र महिला संगठनको जिम्मेवारीमा रहेर स्थानीय कमिटीमा सक्रिय थिइन् । त्यही बेला भूमिगत अवस्थामै मदन भण्डारी र विद्यादेवी पाण्डेबीच जनवादी विवाह सम्पन्न भएको थियो । नयाँ कार्लमास्कको उपाधी पाएका मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त अगाडि सारेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update