
पाल्पा (रामपुर), जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सक्षम खेलाडी उत्पादन गर्न महिला÷पुरुष भलिबल तथा फुटवल खेलसम्बन्धी खेलाडीलाई प्रशिक्षण दिइएको बताएका छन् । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण दिइएको उनले बताए ।
रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत जेठ ७ गते देखि भएको प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै नगर प्रमुख थापाले बालबालिकाको प्रतिभालाई उजागर गरि सक्षम खेलाडी उत्पादन गर्न एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । उनले भने “सक्षम खेलाडीसँगै बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा समेत टेवा पुगोस् भन्ने हाम्रो चाहना हो ।” मेयर कप सञ्चालन हुँदा धेरै बालबालिकाले अवसर नपाएकाले उनीहरूलाई खेल सिकाउन विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । आगामी दिनमा अन्य खेल विधाहरूलाई पनि समेट्दै प्रशिक्षण कार्यक्रमलाई थप विस्तार नगर प्रमुख थापाले बताए । उनले खेल क्षेत्रको सम्भावना रहे पनि सरकारले सोही अनुसारको लगानी गर्न नसक्नु दुखद रहेको बताए । खेलकुदले देशलाई चिनाउने भन्दै खेलाडीलाई हौसला र सुविधा दिनु पर्नेमा थापाले जोड दिए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले बालबालिकाको प्रतिभा देखाउने अवसर प्रशिक्षणले प्रदान गरेको बताए । उनले खेलले अनुशासन र इमान्दारिता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । रामपुर नगरपालिका –५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले खेलाडीहरूले खेलको माध्यमबाट नगरको पहिचान स्थापित गर्न सफल भएको बताए । ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले प्रशिक्षणले बालबालिकाको सोच र व्यवहारमा नै परिवर्तन ल्याएको उल्लेख गरे । वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले नगरपालिकाले खेल क्षेत्रमा आवश्यक लगानी गर्दै आएको बताए । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले प्रशिक्षणले सिकाइसँगै बालबालिकाको प्रतिभा उजागर गर्न मद्दत गरेको बताए । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष गिता वि.क.ले महिलाहरूको सहभागिता गौरवको विषय भएको बताइन् । राष्ट्रिय जनमोर्चा रामपुर नगर समितिका अध्यक्ष रामप्रसाद गैरेले विद्यालयस्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरे । दरैंठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले प्रशिक्षणले खेलकुद सीप मात्र नभई अनुशासन र मेहनत गर्न सिकाएको बताए । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलाडी उत्पादनसँगै खेल क्षेत्रको विकासका लागि कार्यक्रमलाई अझ परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा विजयी खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षता, समिति सदस्य डोलराज श्रेष्ठको स्वागत, सचिव जमुना रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।