
पाल्पा, आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष शरणार्थी सम्बन्ध राष्ट्र संघीय उच्च आयोगको अगुवाईमा दिवस मनाउने गरिएको छ ।
विश्वभरी विस्थापित बढेको र सामाजिक परिवर्तनमा नाटकीय ढंगले परिवर्तन आइरहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग यूएनएचसीआरले जनाएको छ । यूएनएचसीआर सहितका संघसंस्थाले विस्थापित र राज्यबिहीन नागरिकको पक्षमा आवाज उठाउँदै आएका छन् । अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानुनसमेत बनाउन सकेको छैन । तर नेपालले तिब्बती र भुटानी शरणार्थीलाई बास दिएर व्यवस्थापनमा सहयोग गरेको छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् ।