
पाल्पा, गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ । तीनकुनेमा राजतन्त्र पक्षधरको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेका दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई कारागार लगिएको हो ।
उनीहरुलाई शुक्रबार दिउँसो कारागार लगिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार राति थुनामा राख्न आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो । सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये आपराधिक उपद्रवअन्तर्गत ११ जना यसअघि नै धरौटीमा छुटेका छन् । ५० जनामध्ये उपस्थितहरूको बयान र थुनछेक बहसपछि अदालतले यो निर्णय गरेको हो । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवलशमशेर राणा लगायत हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन् । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने अदालतले फरार प्रतिवादीको रूपमा राखेर पक्राउ पुर्जीको लागि प्रक्रिया अघि बढाएको छ ।
कारागार चलान भएका सात जना बाहेक ३२ जनालाई भने धरौटी माग भएकाले उनीहरू धरौटी बुझाएर रिहा भएका थिए ।