Shittalpati
‘प्राविधिक सीप सहितको  नारी शिक्षा र मोहन  कन्या’ विषयक विचार गोष्ठी

पाल्पा, ‘गुणस्तर तथा प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या मावि’ विषयक विचार गोष्ठी तानसेनमा भएको छ । मोहन कन्या माविले आफ्नो हिरक महोत्सवको अवसरमा एक दिने विचार गोष्ठी आयोजना गरेको हो ।

तानसेन नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा छुट्टाछुट्टै तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जहाँ पूर्व विद्यार्थी सिर्जना काफ्लेले महिला सशक्तीकरण शिक्षा र सामाजिक रुपान्तरण, शिक्षक गोपाल प्रसाद बस्यालले गुणस्तर र डिजिटल सीप सहितको नारी शिक्षाको मुल्य र मोहन कन्या माविको योगदान र इन्जिनियर तिलकराम भण्डारीले नारी सशक्तीकरणको आधार कम्प्युटर इन्जिनियरिङ र मोहन कन्या माध्यमिक विद्यालय विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले महिला सशसक्तिकरणका लागि स्वयम् महिला आफै अग्रसर हुनु पर्ने बताउँदै मोहन कन्या पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भएको बताए ।

उनले विद्यालयको समग्र विकासका लागि विगतदेखि नै विभिन्न सहयोगहरु उपलब्ध गराउदै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । प्रस्तुत कार्यपत्र माथि आ–आफ्ना धारणा राख्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ ,नेकपा एमालेका उपसचिव मिना जिसी, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बिशाल दर्लामी, पूर्व प्रध्यापक देबप्रसाद बज्राचार्य, केश लक्ष्मी श्रेष्ठ ,पूर्व सहायक प्रअ द्ववारिका शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतले राणकालिन समयमा स्थापित यो विद्यालयलाई थप परिस्कृत बनाएर लैजान, शिक्षाको गुणस्तर बढाउन विद्यालय ब्यवस्थापन समिति, शिक्षक, अभिभावक, समुदाय र सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा मोहन कन्याको गौरवमय इतिहास कायम राख्न बहस हुन जरुरी रहेको, छात्रावासमा सुधार, प्राविधिक शिक्षामा जोड दिनुको साथै पढ्दै सिकाउदै र कमाउदै गर्ने जस्ता सीप मुलुक शिक्षाको विकास गर्नु आजको आवश्कता रहेको , लैङ्गिक विभेद, जातीय छुवाछूत जरैदेखि फाल्न र युवाहरुको विदेश पलायन रोक्न राज्यले समग्र शिक्षा प्रणालीमै सुधार गरि अघि बढनु पर्ने निष्कर्ष निकालिएको छ । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षता, प्र.अ. दीपक ज्ञावलीको स्वागत, सहायक प्र.अ. रिना श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update