Shittalpati
गरिखाने शिक्षाको खाँचो

मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । तर शिक्षाका नीति तथा कार्यक्रम श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्ने उद्देश्यमा केन्द्रित हुन नसकेको छैन् । जसले गर्दा पढेर पनि मानिस बेरोजगार बस्नु परेको छ ।  हाम्रो शिक्षा व्यवहारिक र जीवनउपयोगी हुन नसक्दा नेपालीहरू रोजगारीका लागि लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकमा कष्टपूर्ण काम गर्न पुगेका छन् ।

पढाइ राम्रो भएर भन्दा पनि अवसरमुखी अर्थात् रोजगारमुखी अध्ययन अहिलेको आवश्यकता हो । यसको मतलव अब गुणस्तरीय शिक्षाका नाममा अब्बल प्राप्तांक ल्याउनुमात्रै होइन ‘टिक्ने–बिक्ने सिकाइ’ अर्थात् ‘गरिखाने शिक्षा’ हुन आवश्यक छ । अब हिजोको जस्तो घोकेर पास गर्ने, यसपछि प्रमाणपत्र लिएर माथि कक्षा चढ्ने भन्ने भन्दा पनि शिशु कक्षादेखि नै हाम्रो समाज, रोजगारजस्ता आर्थिक पाटोसँग जोडेर सिप सिकाउनुपर्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारीका लागि भौँतारिनेभन्दा पनि रोजगारी सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षित जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्या हल गर्न सक्छ । प्राविधिक शिक्षाले रोजगारीका अवसर प्राप्त गर्न सहज हुन्छ । तर, कुन क्षेत्रमा कस्ता प्राविधिक कति चाहिन्छन् भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाका भरमा कार्यक्रम ल्याउने प्रवृत्तिका कारण पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ । विद्यालय शिक्षा पार गरेका युवालाई भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ । साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिका कारण देशमा बेरोजगारीको विकराल समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा वरदान साबित हुन सक्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । यसर्थ माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो र पौरखी शिक्षा अहिलेको  आवश्यकता हो । यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update