
पाल्पा, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिक विधेयक पारित भएको छ । मंगलबार बसेको समिति बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो । समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकताविहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए । विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो । आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो । त्यस्तै, नागरिकता कार्यालय प्रमुखको भूमिकामा रहेका नायब सुब्बाले पनि दिने व्यवस्था विधेयकमा राखिएको छ ।