
पाल्पा,नेपाली काँग्रेस पाल्पाले बाकामलाङ– बल्ढेंगढी वडा जागरण अभियान २०८२ सञ्चालन गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको ३२ औं बैंठकले पूर्वको बाकामलाङदेखि पश्चिमको बल्ढेंगढीसम्म पार्टीको वडा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभियानमा जनताको घरदैलोमा पुगी जनगुनासो सुन्ने जनतामा देखिएका निराशा र असन्तुष्टिहरुलाई सम्बोधन गर्न पार्टी तहबाटै प्रयास गर्ने, विकास निर्माणका योजनाहरुको अनुगमन गरी सम्बन्धित निकायलाई खबरदारी गर्ने र आवश्यकतालाई हेरी विकास निर्माणका योजनाहरु सञ्चालन गर्न पहल गरिने पार्टी सभापति श्रेष्ठले बताए । उनले भने “जनस्तरमा थुप्रै असन्तुष्टि र समस्याहरु छन्, हामीहरु जनताकै घर दैलोमा पुगेर उहाँका समस्या सम्बोधन गर्न पार्टी तहबाटै पहल गर्नेर्छौ ।” काँग्रेसले स्थानीय सरकार र प्रदेश सरकारलाई प्राथमिकताका आधारमा आगामी बजेट विनियोजन गर्न आग्रह गर्ने पनि निर्णय गरेको छ । विगतका घोषणा पत्रमा उल्लेख गरेका र काम हुन नसकेका विषयहरुलाई प्रथामिकतामा राखेर बजेट बनाउन स्थानीय र प्रदेश सरकारलाई आग्रह गरिने पार्टी सभापति श्रेष्ठले बताए । यस्तै बैंठकले विपद्को पूर्व तयारीका लागि वडातहसम्म पार्टीका नेतृत्वहरु सम्मिलत समिति गठन गरी काम गर्ने समेत निर्णय गरेको छ ।
सभापति श्रेष्ठका अनुसार प्रत्येक वडामा वडा सभापति संयोजक र दरुणदलका सभापति सह संयोजक रहने गरी ११ सदस्यीय विपद् व्यवस्थापन तथा उद्धार समिति गठन गरी विपद्को पूर्व तयारी गर्ने र विपद्बाट क्षति भइहाले त्यसको व्यवस्थापन समेत गरिने छ । यस्तै बैंठकमा असार मसान्तसम्ममा नविकरण गर्न छुटेकाहरुको क्रियाशिल सदस्यता नविकरण गर्ने र गर्न पहल गर्ने, वडा पालिका, प्रदेश र क्षेत्रको क्रमिक रुपमा सम्मेलन गरी जिल्ला सम्मेलनको तयारी गर्ने, यातायात व्यवसायीको समस्या तत्काल सम्बोधन गरी महँगी, कालोबजारी जस्ता विषयबाट जनताको जीवन कष्टकर हुनबाट जोगाउन सरकारको ध्यानाकषर्ण गराउने र वर्तमान अवस्थामा देखिएको सडक आन्दोलनले राजनीतिक अस्थिरता सिर्जना हुने र जनजिवीका थप कष्टकर बन्दै जाने भएकाले तत्काल आन्दोलनरत पक्षसँग छलफल गर्ने वातावरण सिर्जना गरी समाधान गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता शोभाखर न्यौपानेले बताए । पार्टी सचिव सुनिता अधिकारीको सञ्चालनमा बैंठक भएको थियो ।