Shittalpati
एकल महिला दिवसको सार्थकता

नेपालसहित विश्वभर आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन लागिएको हो ।

लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो । तर दिवस मनाउन थालेको पनि लामो समय हुँदा समेत एकल महिलाहरुको पीडा र समस्या उस्तै छ । अझै पनि नेपाली समाजमा एकल महिलाहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक नै  छ । समाजले विदुर र विधुवा भनेर दिएको नामकै पछाडी पनि कयौं उपनामहरु जोडिएका हुन्छन् । जब कुनै महिलाले आफ्नो एकल अवस्थामा समाजमा जिउनका लागि प्रयास गरेकी हुन्छिन् उनका पछाडी धेरै कुराहरु उब्जने अनि उनलाई धेरैले औंला उठाउने काम गरेका हुन्छन् । विभिन्न लाञ्छना लगाउँदै जसरी महिलामाथि अपमान गरिन्छ त्यो सह्य हुँदैन । पितृसत्तात्मक सोचका कारण अझै पनि महिलामाथि विभिन्न प्रकारका हिंसाहरु हुने गरेका छन् । यो अत्यन्त दुखको कुरा हो । कुनै समय श्रीमानसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिलाहरुको पीडा सम्बोधन नै हुन नसक्नु दुर्भाग्य हो । पति बिछोडिनुको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुव्र्यवहार खेप्नुपर्ने वातावरणले एकल महिलाहरूको जीवन नारकीय बन्न पुग्नु राम्रो होइन । अझ उनीहरु परिवारबाटै अपमानित हुनु विडम्वनाको कुरा हो । यद्यपि एकल महिलाका पक्षमा केही कामै नभएको चाहिँ होइन । सरकारी सेवामा रहेका पतिको मृत्यु भएमा निजको निवृत्तिभरण, बिमा तथा अन्य क्षतिपूर्ति रकम पतिका नाममा रहेको सम्पत्ति पाउने, पतिबाट सम्बन्धविच्छेद हुनुपर्ने अवस्था आएमा पनि महिलाले अंश लिई अलग हुन पाउने र स्वेच्छामा विवाह गर्न पाउने अधिकार कानुनले दिएको छ ।

एकल महिलालाई सामाजिक सुरक्षा भत्तामा समावेश पनि गरिएको छ । तथापि, कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । एकल महिलाप्रति समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन हुनुपर्छ । धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक दृष्टिले कोही एकल महिला पीडित बनिरहेकै छन् भने त्यस्तो अवस्थाको अन्त्यका लागि सरकार कठोर बन्नुपर्छ । यति हुन सके मात्र साँचो अर्थमा एकल महिला दिवस मनाउनुको सार्थकता रहन्छ भने उनीहरुप्रति सम्मान हुन सक्छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update