Shittalpati
विश्व मौसम विज्ञान दिवसको सन्दर्भ

मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मार्च २३ मा नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि प्रकाश पार्दछ । पृथ्वीमा बसोबास गर्ने मानवका लागि यहाँको वायुमण्डल र महासागर साझा रुपमा रहेको छ । यस्तै मौसम, हावापानी तथा जलचक्रलाई कुनै राष्ट्रिय वा राजनीतिक सीमाना थाहा हुँदैन । त्यसैले यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ । दिवसले वर्तमान र भविष्यका पुस्ताहरुका लागि समाजको सेवामा विज्ञानलाई रुपान्तरित गर्दा थप मार्गदर्शन गर्न सक्ने विश्वास गर्न सकिन्छ ।

शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउन दिवसले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । विश्व मौसम विज्ञान संगठनद्वारा संकलित तथ्याङ्क बिना, सही र दैनिक रुपमा मौसम पूर्वानुमान प्राप्त गर्न असम्भव हुन्छ । मौसम सम्बन्धी डाटाले हामीलाई मौसमको क्षति ट्र्याक गर्न, सम्पूर्ण दिनहरूको योजना बनाउन र प्राकृतिक प्रकोपहरूको बारेमा चेतावनी दिन मद्दत गर्दछ । यी नै डाटाको कारणले गर्दा मानिसहरूलाई बाहिर निकाल्न वा आवश्यक आँधीको तयारी गर्न पर्याप्त समय दिएर ठूूलो आँधीको भविष्यवाणी गर्न पनि यसले मद्दत गर्दछ । मानव जाती अहिले प्रविधि विकासको उच्च विन्दुमा रहे पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा वा हेल्चेक्रयाइँ गर्दा अस्तित्व संकटमा परेको छ । साथै प्रविधि विकासमा अब्बल सावित भएका राष्ट्रहरू पनि वातावरणीय र पर्यावरणीय संरक्षणमा उदासीन हुँदा मानव जातीसँगै पृथ्वीकै अस्तित्व संकटमा परेको कुरा पछिल्लो समय वातावरणमा देखिएको अप्रत्यासित परिवर्तनले पुष्टि गरेको छ । हरितगृह ग्यास उत्सर्जनका कारण अहिले मौसम चरम अवस्थामा पुग्दैछ । महासागरमा गर्मी बढेको छ भने अधिक अम्लीयपन बढेको छ । समुद्रको स्तर बढेको छ, हिमनदी तथा हिउँ पक्लिनेक्रम बढेर गएको छ । मौसम परिवर्तनको दर तीव्ररुपमा बढ्दै गएको छ । यस अवस्थामा हरितगृह उत्सर्जनलाई न्यूनीकरण गर्न तथा यसलाई सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम उठाउन आवश्यक छ । भावी पुस्ता जीवित रहने र हुर्कन सक्ने वातावरणको सुनिश्चितता अहिले नै गरिनु पर्छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष विश्व मौसम विज्ञान दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update