Shittalpati
पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ,  पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
 

सोमबार पक्राउ परेका महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालय लगिएको छ । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहितका व्यक्तिहरु मुछिएका थिए । उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै  सरकारको आलोचना हुँदै आएको थियो ।

महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।  सीआईबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update