Shittalpati
महाशिवरात्रिको सार्थकता

महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व पनि हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । शिवरात्रिमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । यस रातमा गरिएको व्रत र उपासनाले मानवलाई शिव रहस्य ज्ञान प्राप्त हुन्छ भन्ने विश्वास पनि गरिन्छ ।

महाशिवरात्रिमा शुभसंकल्पका साथ शिवव्रत गर्न सकेमा मानवले शिवत्वको ज्ञान प्राप्त गर्न सक्छ भन्ने तथ्य शास्त्रहरूमा पाइन्छ । शिवस्वरूप बनेर शिवको उपासना गर्ने दिन महाशिवरात्रि पर्व आफैंमा दिव्य योगको समय मानिन्छ । शिव तत्वज्ञान नभईकन साधना पूरा हुँदैन । साधनामा सफलता नभएसम्म शिवको दर्शन मिल्न सक्दैन । आध्यात्मिक दर्शनमा शिव ज्ञानका अधिष्ठान देवता हुन् । ज्ञान प्राप्त गर्न चाहनेहरूले शिव उपासना गर्नु जरुरी छ । उपासनाद्वारा आफुलाई ज्ञान र चरित्रले परिपूर्ण बनाउनु नै शिवत्व प्राप्त गर्नु हो । ज्ञानी मानव विचारमा विद्वान् र आचारशिलामा सिर्जनात्मक हुनुपर्छ । ज्ञान चरित्र निर्माणका लागि हो । ज्ञान खाली वाणीको आनन्दका लागि मात्र प्रयोग हुन्छ भने त्यो दुरुपयोग हो । शिव प्रसन्न बनाउने विभिन्न व्रतहरूमा शिवरात्रि व्रत सर्वाेत्तम मानिएको छ । भगवान् शिव त्रिपुरारी, समस्त संसारको नियामक, श्मसानवासी, कल्याणकारी देव हुन् । उही शिवको पुण्यतादायक पर्व महाशिवरात्रि हो । जहाँ शिव त्यहाँ सम्पन्नता, ज्ञान र प्रसन्नता प्राप्त हुन्छ । तसर्थ यस्ता महान्तम पर्वहरूमा व्रत, उपासना र आराधना गर्न सके मात्र महाशिवरात्रि जस्ता पवित्र पर्व मनाउनुको सार्थकता रहन्छ । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update