Shittalpati
आजबाट काँग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ : झापाको मेची भन्सारबाट आरम्भ गर्दै

काठमाडौं,  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले १३ माघ (आज) देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्ने भएका छन् । महामन्त्री थापाले शनिबार बिहानदेखि झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्न लागेका हुन् । 

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने कांग्रेस झापाले जनाएको छ । महामन्त्री थापाले शनिबार बिहान ८ बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्दै छन् ।
पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १२ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् ।महामन्त्री थापा शनिबार बिहान ९ः३० बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नेछन् । थापाको संवाद यात्रा कांग्रेसका नेता–कार्यकर्ता मात्र भेट्ने नभएर आमनागरिकसँग संवाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ । 
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update