Shittalpati
जलवायु सम्मेलनबाट अपेक्षा

विश्वव्यापी जलवायु परिवर्तनले सिर्जना गरेका बहुआयामिक समस्या समाधान गर्न वार्षिक रूपमा गरिने जलवायु सम्मेलन यस वर्ष बिहीबारदेखि विधिवतरुपमा सुरु हुँदैछ । यूएईको दुबईमा डिसेम्बर १२ सम्म सञ्चालन हुन गैरहेको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) लाई लिएर विश्वभर नै अपेक्षा बढिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । नेपाललगायत १६० भन्दा धेरै देशहरुको संलग्नता रहने यो सम्मेलन जलवायु परिवर्तनको सन्दर्भमा निकै महत्वपूर्ण रहने छ । जलवायु परिवर्तन विश्वभर पेचिलो विषय बन्दै गइरहेको छ । त्यसको असर नेपालले पनि नराम्रोसँग भोग्नु परेको छ । जलवायु परिवर्तनको सन्दर्भमा नेपाल कारक नहुँदा नहुँदै पनि त्यसको असर प्रत्यक्षरुपमै भोग्न विवश छ । यसर्थ पनि यस वर्षको विश्व जलवायु सम्मेलनलाई गम्भीरताका साथ हेरिएको छ । 

सम्मेलनको सुरुमा हुने शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित १६० देशका राष्ट्र वा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ । जलवायु परिवर्तन वर्तमान विश्वको प्रमुख चुनौती रहेको अवस्थामा यो सम्मेलनले सकरात्मक सन्देश प्रवाह गर्ने धेरैले अपेक्षा पनि गरेका छन् । विशेषगरी पछिल्ला अध्ययन प्रतिवेदनहरूले अपेक्षा गरेभन्दा बढी विश्वको औसत तापक्रम वृद्धि भएको र यसले पृथ्वीको प्राकृतिक प्रणाली तथा मानव अस्तित्वलाई समेत चुनौती दिएको अवस्थामा साच्चिकै यो सम्मेलनले एउटा ठोस कदम चाल्न सक्ने अनुमान गर्न सकिन्छ र गर्नु पनि पर्छ । यो सम्मेलनलाई विकासशील मुलुकहरू संवदेनशील भएर आफ्ना राष्ट्रिय दृष्टिकोण विश्वसामु राख्नुपर्ने छ । जलसँग जीवन जोडिएको छ । मानिसको मात्र होइन, तमाम पर्याचव्रmका जीव तथा वनस्पतिको जीवनसँग पानी जोडिएको छ । मौसमी चव्रm खल्बलिन नदिन अब स्वच्छ ऊर्जाको भविष्यतिर अग्रसर हुनु अहिलेको आवश्यकता हो । तसर्थ कोप–२८ लाई जलवायु संकटबाट अति जोखिममा परेका तथा हरित गृह ग्याँसको उत्सर्जनमा नगण्य योगदान रहेका नेपाल जस्ता राष्ट्रलाई न्याय प्रदान गर्न सार्थक रहन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update