Shittalpati
रानीमहल क्षेत्र : बिच भलिबलको हब र विकासको सम्भावना

पदम न्यौपाने
संसारमा बिच भलिबलको विकास समुन्द्री तटहरुमा मात्र भएको देखिन्छ । समुन्द्रीतट मनोरञ्जनात्मक पर्यटनका लागि उपयुक्त थलो पनि मानिन्छ । तसर्थ यसलाई मनोरञ्जनात्मक खेल पनि भन्ने गरिन्छ । यहि खेललाई नेपाल जस्ता पहाडी मुलुकमा पनि सम्भव हुन सक्छ र अन्तर्राष्टियकरण हुँदै गएको यो खेललाई प्रतियोगितात्मक हिसाबले हेर्दा नेपालमा पनि सम्भावना र अवसर दुवै छ भन्ने लागेर भिœयाईएको खेल हो । नेपाल साहसिक पर्यटनका लागि अधिक सम्भावनायुक्त थलो हो । नेपालका नदीहरु विभिन्न प्रकृतिका खेलका लागि पनि उपयुक्त मानिएका छन् । नदी र यससँग जोडिएका भू–भाग खेल पर्यटनका लागि सम्भावनायुक्त क्षेत्रहरु हुन् । खेलका माध्यमबाट नेपालको पर्यटन विकासमा ठूलो योगदान दिन सकिन्छ । खेल पर्यटन खेल क्षेत्रमा नयाँ अवधारणा सहित सम्भावना भएको क्षेत्र पनि मानिन्छ ।

यसै पृष्ठभूमिमा पाल्पाको रानीमहल आन्तरिक तथा बाÞय पर्यटकका लागि आकर्षक थलो पनि हो । ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको कालीगण्डकीको किनारमा रहेको विश्व सम्पदा सुचिमा सूचिकृत यो दरबार र वरीपरिको यस क्षेत्रलाई प्रशस्त आन्तरिक तथा बाÞय पर्यटनको सम्भावना बोकेको क्षेत्र पनि मानिन्छ । सञ्जय मेमोरियल फाउण्डेसनले यस क्षेत्रलाई बिच भलिबलको एउटा गन्तव्य (हब)को रुपमा विकास हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै यस स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिच भलिबल प्रतियोगिता गर्न सकिने स्थानको रुपमा विकास गर्ने लक्ष्य लिएर गत वर्ष र यो वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । दुईवर्ष लगातार आयोजना गरिएका प्रतियोगिताको प्रभाव र पर्यटन क्षेत्रमा पर्ने प्रभाव र योगदानलाई मध्यनजर राख्दै यस क्षेत्रलाई तानसेन नगरपालिका र छिमेकको बगनासकाली गाउँपालिकाद्धारा संयुक्त रुपमा बिच भलिबलको हब घोषणा गरिएको छ । त्यतिमात्र नभई नेपाल पर्यटन बोर्डले समेत आफ्नो प्रकाशन In Focus on 2022 मा विदेशीहरुले रमाउने अर्को गन्तव्य भनेर रानीमहल क्षेत्रलाइ बिच भलिबलको सम्भावना बारेमा उल्लेख गरेको छ । यो पाल्पाको खेल क्षेत्रमा एउटा नयाँ अध्याय हो भने बिच भलिबलका खेलाडीका लागि ठूलो अवसर पनि हो ।

नेपालमा खेल क्षेत्रमा लोकप्रियता र अन्तर्राष्ट्रिय सफलताका आधारमा सरकारले भलिवललाई नेपालको एक मात्र राष्ट्रिय खेल घोषणा गरेको छ । आवश्यक न्यूनतम आधारभूत आवश्यकताका पूर्वाधार तथा उत्प्रेरणाजन्य सुविधा अपेक्षित नभए पनि नेपालमा भलिबल टिमका खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दह्रो उपस्थिति देखाउन सफल भएका छन् । यसले के प्रमाणित गर्छ भने नेपालमाबिच भलिबलको प्रशस्त सम्भावना छ । भलिबलको एउटा विधाको रुपमा रहेको बिच भलिबल पनि अन्तर्राष्ट्रिय पदकका लागि निकै सम्भावना भएको खेल मानिन्छ । नेपालमा यसको इतिहास लामो नभए पनि उभराउँदो खेलको रुपमा लिन सकिन्छ । हालसम्म भएका प्रतियोगिता र सहभागी नेपाली महिला बिच भलिबल टिमले राम्रो र आशालाग्दो खेल प्रदर्शन गरेका कारणले यसको विकासमा मद्धत गर्न सकियो र बिच भलिबलकै राष्ट्रिय टिम बनाउन सकियो भने यस खेलबाट पनि नेपालले धेरै अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने देखिन्छ । खेलका माध्यमबाट नेपालको पर्यटन क्षेत्रमा पनि मद्धत गर्न सकिन्छ भन्ने पछिल्ला अभ्यासले प्रमाणित गरिसकेको पृष्ठभूमिमा पाल्पाको रानीमहललाई खेल आयोजना स्थल छनौट गरिएको आयोजक संस्थाका अध्यक्ष निरोज मास्केको भनाइ रहेको छ । रानीमहल क्षेत्रलाई बिच भलिबलको हब घोषणा गराउने लक्ष्यलाई सहयोग गर्दै नेपाल सरकारले यस वर्ष राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि केही रकम बजेटमै उल्लेख गरी रानीमहल क्षेत्रलाई बिच भलिबलको हव निर्माण गर्ने अभियानलाई साथ दिएको थियो ।

नेपालको  खेल इतिहासमा एउटा प्रतियोगिता सम्पन्न भै दोश्रो प्रतियोगिताको दौरान कुनै क्षेत्रलाई खेल हबको घोषणा गरिएको सायद यो पहिलो इतिहास हुन सक्छ । यसरी स्थानीय सरकारहरु सकारात्मक बन्न सक्नु त्यस प्रतियोगिताले लिएको लक्ष्य र उद्धेश्यले नै उत्प्रेरित गरेको हुनु पर्छ । यो रकम (बजेट) सक्नका लागि आयोजना गरिने खेल कार्यक्रम आयोजकहरुलाई उदाहरण बन्न सक्छ । यस कार्यले लाखौ करोडौ खर्चेर गरिने खेल प्रतियोगिता पश्चात सो स्थानमा केही नरहने प्रवृतिका लागि चुनौती पनि हो । प्रतियोगिता आयोजनाका लागि तयार पारिएको प्रस्तावमा उल्लेख गरिएका उद्देश्यहरु पनि वडो जिम्मेवार ढंगले खेलको दीर्घकालिन विकासमा प्रभाव पार्ने गरी अगाडि सारेको देखिन्छ । नेपालमा बिच भलिबलकोे बेग्लै टिम तयार हुनका लागि आवश्यक वातावरण पनि तयार पारिएको देखिदैन । नेपाल सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरे पनि सो अनुरुपको सोच र सहयोग प्रति उदासिन देखिन्छ । भलिबल खेल सम्वद्ध संस्था नेपाल भलिबल संघले पनि स्पष्ट अवधारणा बनाउन सकिरहेको देखिदैन । संघ प्रतियोगितामा मात्र केन्द्रित हुने हो की भलिबलको खेल विकासका लागि अध्ययन अनुसन्धान गरी सरकार वा सम्वद्ध निकायहरुलाई आवश्यक नीति नियम बनाउन सहयोग पनि गर्ने हो, यसका सम्भावनाको पहिचान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय र परिचालन पनि गर्ने हो भन्नेमा आफैमा अलमलमा रहेको संघले बिच भलिबललाई सम्भावना युक्त खेलको रुपमा स्विकार गरेको देखिदैन । यसबारे न अध्ययन, न अनुसन्धान न त यस बारे राष्ट्रिय छलफल पनि गरेको देखिदैन । भलिबल संघका पूर्व उपाध्यक्ष निरोज मास्केको व्यक्तिगत पहल र लगानीमा विकास हँुदै गएको यो खेल प्रति उदार र सकारात्मक पनि बन्न सकेको देखिदैन । भलिबलका खेलाडीहरुबाटै विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय या क्षेत्रीय प्रतियोगितामा सामेल गराउने काम गरेको छ । यसलाई संघले आफ्नो उपलब्धी ठानेको छ । नेपालका विभिन्न नदीका किनार बिच भलिबलका लागि उपयुक्त हुन र यहाँबाट उत्पादन हुने खेलाडी प्रतिष्पर्धी हुन सक्छन् । संघले यी नदी किनारबाट राष्ट्रिय टिमको विकास हुन सक्छन् भन्ने कल्पना पनि गरेको देखिदैन । भलिबलका जिल्ला संघहरु पनि खेल विकासमा केन्द्रित हुन सकेका छैनन् ।

जहाँसम्म पाल्पाको रानीमहल क्षेत्रलाई बिच भलिबलको हब घोषणाको सन्दर्भलाई उल्लेख गनुपर्दा केही थप पहलहरुको आवश्यकता देखिन्छ । हबको घोषणाबाट जिल्ला भलिबल संघ उत्साही हुनुपर्ने थियो त्यस्तो देखिदैन । रानीमहल क्षेत्र भनेको कालीगण्डकी किनारमा रहेको स्वदेशी विदेशी पर्यटकका लागि आकर्षणको रुपमा रहेको भव्य कलात्मक दरबार, प्राकृतिक रुपमै खेल मैदान उपलव्ध हुने बालुवाको उपलब्धता रहने क्षेत्र, पर्यटकीय आकर्षण रहेका आधादर्जन पुरातात्विक सम्पदाहरुको बिच भागमा रहेको क्षेत्र, हिन्दुहरुले विष्णु भगवानको रुप मान्ने शालिग्राम उपलब्ध हुने नदी र बालुवा, शान्त र स्वच्छ चिसो हावापानी र वातारण रहेको क्षेत्र र तानसेन बजारबाट १२ किमी दुरीमा रहेको र दश किमी बजार क्षेत्र आउँदा झण्डै डेढ दर्जन हिमाली श्रृखांला अलोकन गर्न पाउने, यहीबाटै मुक्तिनाथ जाने कालिगण्डकी करीडोर जस्ता विशेषता भए पनि यी पक्ष र अवसरहरु नजरअन्दाज गरिएका कारणले पनि ठूलो सम्भाव्य क्षेत्र भनेर नदेख्नु पनि एउटा कारण देखिन्छ । त्यसैगरी पाल्पा, स्याञ्जा, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाहरु यही नदीले जोडिएका जिल्लाहरु हुन् । यी जिल्लामा स्थानीय क्लवहरु गठन गरी नियमिति प्रतिष्पर्धा गर्ने बातावरण बनाउन सकियो भने यही बाटै केही वर्ष भित्रमा बिच भलिबलका खेलाडी उत्पादन हुने र यसै क्षेत्रबाट महिला र पुरुषको राष्ट्रिय टिम बन्न सक्छ भन्ने धारणा पनि बनाउन नसक्नु हो । यी र यस्तै प्रशस्त सम्भावना बोकेको यस क्षेत्रका स्थानीय भलिबल प्रेमी खेलाडीहरुले बुझ्दा मात्र खेल, खेलाडीको विकास हुन जाने देखिन्छ । यति मात्र होइन बिच भलिबलको केन्द्रिय संघ पनि गठन हुन जाने देखिन्छ । अर्काे पक्ष स्थानीय सरकारहरुले पनि खेल प्रति रुचि बढाउने र सानो तिनो लगानी विनियोजनमात्र गर्दै जाने हो भने बाÞय लगानी पनि भित्रिने छ । खेल पर्यटन पनि पर्यटन क्षेत्रको नयां अवधारणा विकास भइरहेको र कतिपय राष्ट्रले यसमा जोड दिदै आएका छन् । अवसरको उपयोग पनि गरिरहेको देखिन्छ ।

एउटा ठूलो व्यवहारिक सम्भावना रहेको रानीमहल क्षेत्र र घोषणा भएको बीच भलिबलको हबको दीगो विकास र पर्यटन प्रवद्र्धनमा कल्पना नगरिएको उपयोग गर्ने हो भने स्थानीय सरकार र प्रदेश सरकारको ध्यान जानु जरुरी छ । केही आवश्यक पूर्वाधार विकासमा सामान्य लगानी गर्न जरुरी छ । भलिबल खेलमा रुचिराख्ने खेलाडीहरुले किनार पर्ने पालिकाहरुमा क्लवहरु गठन गरी बिच भलिबलका बेग्लै टिम बनाई प्रतियोगिता सञ्चालन गर्ने र यसका लागि वडाहरुको सहयोग नै प्रचुर हुन्छ । जिल्लास्तरीय प्रतियोगितामा पालिकाहरुको सहयोग र प्रदेशस्तरीय प्रतियोगितामा प्रदेश सरकार एवं राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि संघले सहयोग गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसका साथै बिच भलिबलमा आकर्षित हुन उत्प्रेरीत गर्ने र नयाँ खेलाडी जन्माउन अभिप्रेरित गर्ने अभियान चलाउन जरुरी छ । बिच भलिबलको विकासमा निजि क्षेत्रलाई आकर्षित गरी बिच भलिबल खेल विकासमा सहभागि हुन अभिप्रेरित गराउन सकिन्छ । आगामी वर्षदेखि स्थानीय सरकार (नगरपालिका) वा खेलकुद सम्बद्ध निकाय वा निजि क्षेत्र यि निकायको सहकार्यमा क्लव वा संघद्धारा सञ्चालन निरन्तरता दिने वातावरण निर्माण गर्न आवश्यक छ । यस कार्यका लागि पाल्पाका दुई चारजना मात्र सक्रिय हुने हो भने मात्र पनि सम्भव छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update