Shittalpati
विश्व खाद्य दिवसको सन्दर्भ

विश्व खाद्य दिवसको सन्दर्भआज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो । सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको  नेपालले २०३८ साल 
(सन् १९८१) देखि यो दिवस मनाउँदै आएको छ । नेपालले मनाएको पहिलो खाद्य दिवसको नारा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ थियो तर नारा र घोषणामा प्रतिवद्धता जनाए अनुरुप नेपालले कृषि तथा खाद्यान्न उत्पादन, सञ्चिती र वितरणमा भने खासै प्रगति गर्न सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो ।

अहिले बढ्दो विश्वव्यापी खाद्य संकट, गरिबी, कुपोषण र जलवायु परिवर्तनको कृषि क्षेत्रमा बढ्दो प्रभावसँगै खाद्य असुरक्षा भोगिरहेका लाखौं विपन्न समुदायको खाद्यमा पहुँच बढाउन कस्तो खाद्य तथा कृषि प्रणाली अपनाउने भन्ने सर्वत्र बहस चलिरहेको छ । यस्तो अवस्थामा हामीले अब नाफा कमाउन गरिने पश्चिमी शैलीको व्यापारिक कृषि गर्ने वा साना किसानमैत्री, स्थानीय स्रोत–साधनमा आधारित दिगो खाद्य तथा कृषि प्रणाली अपनाउने भनेर रोज्ने बेला आएको छ । अहिले नेपालमा सजिलै उत्पादन हुने गेडागुडी, मासु, तरकारी र फलफूल समेत आयातको सूचीमा छन् । समृद्धिको भाषण गर्न नथाक्ने नेताहरुको प्राथमिकतामा कृषि कहिल्यै परेन । राष्ट्रवादका नाराले मात्र कृषि उत्पादन बढेन, भोका किसानको पेट भरिएन, न त युवा किसानको खाडी यात्रा नै रोकियो । कृषिको दीर्घकालीन रुपान्तरणका लागि समयमै आवश्यक पहल गर्न नसक्ने हो भने केही वर्षपछि हामीले खाद्यान्न आयात दिवस मनाउनुपर्नेछ । यसर्थ बदलिएको कृषि विकासका आयामहरूको विश्लेषण गरी आम राजनीतिक प्रतिवद्धतासहितको स्पष्ट दृष्टिकोण बनाई कृषि क्षेत्रको रुपान्तरण गर्न सके मात्र विश्व खाद्य दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update