Shittalpati
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया

पाल्पा, जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा  पनि देखिन थालेको हो ।

पुर्वखोला गाउँपालिका– ३ का १५ बर्षीय किशोरमा मलेरिया रोग देखिएको छ । यहाँ मलेरिया रोग पुष्टि भएपछि त्रास छाएको छ । ति किशोरमा मलेरिया अन्य मानिसबाट सरेको नभई सोही स्थानमै लामखुट्टेको टोकाईबाट देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । सक्रमित किशोरको स्थानीय स्वास्थ्य चौकीमा असोज ५ गते परीक्षण गरी मलेरिया भएको पत्ता लागेपछि पुनः जिल्ला अस्पताल तानसेनमा परीक्षण गरि पुष्टि गरिएको थियो । निजलाई निःशुल्क रुपमा उपचारको व्यवस्था गरिएको छ । संक्रमित किशोरले १७ दिनसम्म औषधी सेवन गर्नुपर्ने छ ।

स्थानीय रुपमा मलेरिया पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मलेरिया रोग सक्रमण पुष्टि भएका किशोरको घर वरपरका ५० घरका ९८ जनाको स्कानिङ्ग गरिएको ल्याव टेक्निसियन मधु सुदन भट्टराईले बताए । ९८ जनाको पहिलो परीक्षण गरेपनि पुनः दोस्रो परीक्षण गरिने कार्यालयले जनाएको छ ।  किशोरको स्वास्थ्यमा सुधार हुँदै गएको गएको छ । जिल्लामा आयातित रुपमा नभई स्थानीय रुपमा ८ बर्ष पछि मलेरिया देखिएको हो । यो रोगले संक्रमण गरेपछि उच्च ज्वरो, काम्ने ज्वरो, पसिना आउने, पटक पटक ज्वरो आउने छोड्ने जस्ता लक्षण देखिछ । यसबाट बच्न झुल लगाएर सुत्ने, पानी जम्ने घर नजिकका खाल्डाखुल्डी पुर्ने, घर नजिकमा हुने झारी हटाउने , घरभित्र धुप बालेर झुल लगाएर मात्र सुत्ने र नांगो शरिर रहने गरि हिडडुल नगर्ने जस्ता उपायहरु अपनाउन स्वास्थ्यकर्मीहरुले स्थानीयलाई आग्रह गरेका छन् । उच्च ज्वरो आउने बित्तिकै तत्काल स्वास्थ्य संस्थामा जान पनि अपिल गरिएको छ ।

आयातिति रुपको मलेरिया भने गत बर्ष ६ जना र यस बर्ष २ जनामा सक्रमण देखिएको छ । सरकारले सन २०२५ भित्र नेपालबाट मलेरिया रोग उन्मुलन गर्ने लक्ष्य लिए पनि दिनहुँ मलेरियाका विरामीहरु बढ्दै गएपछि सरकारको लक्ष्यमा चुनौती थपिएको छ ।

पाल्पामा लामखुट्टेको टोकाईबाट हुने रोगीको संख्या बढ्दै गएको छ । पाल्पामा डेंगी रोगबाट चालु आर्थिक बर्षमा ३ जनाको मृत्यु भईसकेको छ भने २ सय ९१ जना सक्रमित भएका छन् । लामखुट्टे तथा भुसुनाको टोकाईबाट १ सय ८४ जनामा स्कर्व टाइपस सक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update