Shittalpati
साक्षरता दिवसको सार्थकता

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यस वर्षका लागि ‘संक्रमणमा रहेको विश्वको लागि साक्षरता प्रवद्र्धन गर्दै : दिगो र शान्तिपूर्ण समाजको आधार निर्माण गर्दै’ भन्ने नारा तय गरिएको छ । विश्वमा कोही पनि निरक्षर नरहुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको सेप्टेम्बर ८ तारिखलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ ।

मुलुकमा गणतन्त्र स्थापनापछि नै राष्ट्रिय शिक्षा दिवस पनि मनाउने चलन चलाइएको थियो । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका बञ्चित हुन् नपरोस्’ भन्ने आदर्श नाराका साथ विसं २०३१ देखि राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको थियो । १२ फागुनमा मनाइने शिक्षा दिवस दोस्रो जनआन्दोलनपछि सेप्टेम्बर ८ तारिखमा मनाउन थालिएको हो । यो दिवस अन्तर्राष्ट्रिय रुपमा मनाइरहँदा विश्वका ६० मुलुकको साक्षरता प्रतिशत अझै पनि ९५ भन्दा तल रहेको पाइन्छ । यो अत्यन्त दुःखको कुरा हो । नेपालमा ९५ प्रतिशतभन्दा बढी साक्षरता भएका जिल्लालाई पूर्णसाक्षर घोषणा गरिँदै आएको छ । अहिले नेपालको साक्षर जनसंख्या ८१ प्रतिशत पुगेको दाबी गरिएको छ । विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा प्रवेश गराउन झण्डै सतप्रतिशत सफल भए पनि प्रौढहरूलाई साक्षर तुल्याउने कार्यमा सन्तोषजक प्रगति हुन सकेको छैन ।

२०६५ सालमा सरकारले साक्षरता अभियान नै सञ्चालन गरेको थियो । यो निकै सकारात्मक पक्ष थियो तर त्यसबाट खासै उपलब्धि हासिल हुन सकेन । सरकारले सञ्चालन गरेको साक्षरता अभियानले साक्षरता प्रतिशत बढाउन केही सहज भएपनि निरक्षर उन्मूलनचाहिँ चुनौतीकै विषयका रुपमा देखापरेको छ । अहिले पनि पूर्णसाक्षर जिल्ला घोषणाको क्रम जारी छ तर, साक्षर जिल्ला घोषणाको दौडमा तथ्यांक बढाइएको, साक्षरता घोषणा गरिएअनुसारको सुधार गाउँमा नदेखिएका गुनासा पनि आइरहेकै छन् । सरकारको महत्वाकांक्षी घोषणालाई सार्थक बनाउनकै लागिमात्रै निरक्षरहरुलाई रातारात साक्षर बनाइनु विडम्बनाकै कुरा हो । सरकारले संख्यात्मक भन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिएर साक्षर अभियानलाई निरन्तरता दिन सकेमा साक्षरता दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औचारिकतामै सिमित नहोला भन्न सकिदैन । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update