Shittalpati
बुवा–आमाको सधैँ सम्मान गरौं

हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्षको औंसीमा आमा र भाद्र कृष्ण औंसी अर्थात् कुसेऔंसीमा बुुवाको मुख हेर्ने चलन छ । यो चलन जस्तै हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर बुवा आमाको सम्मानमा यो दिवस मनाइंदै छ ।

सन् २०१२ को संयुक्त राष्ट्र संघको महासभाले विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार यो दिवस मनाउने गरिन्छ । अहिलेको अवस्थामा यो दिवस मनाउनु रामै्र मानिन्छ । जो बुवा आमा भन्दा टाढा छन् । जसले वर्षौसम्म पनि आमा बुवा भेट्न पाउँदैनन्, उनीहरुका लागि यो दिवस महत्वपूर्ण रहन्छ । तर वर्षमा एक दुई पटक बुवा आमाप्रति सद्भाव र माया दर्शाएर पुग्दैन । जन्म र कर्म दिने बुवा आमालाई वर्षमा एक÷दुई दिन सम्झिएर हुँदैन । अझ अहिले त वर्षभरी वास्ता नगर्ने जब आमा, बुवाको मुख हेर्ने र दिवस आउँछन् तब सामाजिक सञ्जालका भित्ताहरूमा बुवा आमाका तस्वीरहरु सजाएर राख्ने प्रवृत्तिको विकास भएको छ जुन गलत हो । 

हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै बुवाआमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहारा विहीन बनाउने सन्तानहरू अहिले बढिरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो । बुवा आमा–जननी, जन्मदाता र कर्मदाता हुन् । सनातन संस्कृति अवलम्बन गर्ने हो भने मातापिता वर्ष दिनभरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । बुवा आमाले गरेको सानो गल्तीले उनीहरुको महिमा घट्दैन । जन्मदेखि लालनपालन गरेर व्यक्तिलाई यस अवस्थामा ल्याउनसम्म मातापिताको ठूलो भूमिका हुन्छ । सनातन मान्यताअनुसार एकदिन मुख हेरेर वा मीठा खानेकुरा खुवाएर सन्तानको कर्तव्य पूरा हुँदैन । जीवित हुँदा मातापिताको अनुकुलको कार्य गर्ने, आफ्नो क्षमता अनुसार सेवा गर्ने र मृत्युपछि पनि श्राद्ध आदि कार्य गरेर उनीहरूको सम्मान गर्नुपर्छ । यसो गर्न सके मात्र बुवा आमाप्रति सच्चा सम्मान गरेको ठहर छ । तसर्थ बुवाआमालाई वर्षको एक÷दुई दिन होइन सधँै सम्मान र आदरभाव प्रकट गरौं ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update