Shittalpati
जैविक विविधता संरक्षणको आवश्यकता

आकासीय, स्थलीय, जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणाली, त्यस भागका रूपमा रहेका जीव र वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भनिन्छ । जैविक विविधता मानव जीवन र अस्तित्वको आधार हो । वास्तवमा जैविक विविधताकै कारण हाम्रो पृथ्वी सजीव ग्रह तथा बस्नयोग्य ग्रह बनेको हो । जैविक विविधताको महत्व बहुआयामिक रहेको छ । यो प्रकृतिबाट प्राप्त गर्ने वस्तु तथा सेवाको स्रोत पनि हो ।

वातावरणीय सन्तुलन, पानीको प्राकृतिक शुद्धीकरण, प्रदूषण नियमन, रासायनिक पदार्थको शोषण, जलचक्रको सन्तुलन, प्राणवायु उत्पादन, कार्बन सञ्चिति, बाढीपहिरो नियन्त्रणजस्ता वातावरणीय प्रणालीका लागि जैविक विविधताको अहम् भूमिका रहन्छ ।
तर पछिल्लो समय मानववस्तीको विकाससँगसँगै जैविक विविधता समेत हराउने अवस्थामा छ । जनसंख्या वृद्धिका कारण प्राकृतिक स्रोतको अत्यधिक दोहन तथा बासस्थानको विनास अनि बढ्दै गएको जलवायु परिवर्तन र विश्व उष्णीकरणका कारण जैविक विविधता संकटमा छ । संकटमा पर्दै गएको जैविक विविधताको रक्षाको लागि अन्तर्राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्ने ध्ययले हरेक वर्ष मे २२ तारिख अर्थात् आजकै दिन जैविक विविधता दिवस मनाउने गरिन्छ । हरेक वर्ष यो कार्यक्रम मनाउने गरिए पनि जैविक विविधताको संरक्षण भने हुन सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीवजन्तुका वंश नै समाप्त भैसकेका छन् भने कुनै अति नै संकटापन्न अवस्थामा पुगिसकेका छन् । यस्तो अवस्थामा भावी संकट टार्नको लागि मानव समुदायले जैविक विविधता रक्षामा कदम चाल्नु अपरिहार्य बनिसकेको छ । जैविक विविधता संरक्षणको सवाल हरेक नागरिकको मुख्य कर्तव्य बन्नुपर्छ अनि प्राकृतिक स्रोत माथिको अधिकार नागरिकको मौलिक हक बनाइनुपर्छ । यसो गर्न सके मात्र जैविक विविधताको संरक्षण हुन सक्छ । जैविक विविधता संरक्षण एक बहुआयामिक र अन्तरक्षेत्रगत विषय भएको हुनाले पनि विभिन्न निकायबाट सञ्चालन हुने योजना तथा कार्यक्रममा यसलाई मूलप्रवाहीकरण गर्दै जानु अहिलेको आवश्यकता रहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update