Shittalpati
सांसद रानाले गरे रामपुरका शैक्षिक संस्थाको अवलोकन

रामपुर, लुम्बिनी प्रदेशका सांसद तथा पूूर्वमन्त्री वीरबहादुर रानाले पाल्पा रामपुरमा रहेका विभिन्न शैक्षिक संस्थाहरुको अवलोकन गरेका छन् । उनले यहाँका शैक्षिक संस्थाहरुको अवस्थाका बारेमा बुुझ्न अवलोकन गरेका हुन् ।

सांसद् रानाले रामपुर नगरपालिका –४ ईस्लामपुरमा रहेको मदरसा नुरुल हुदा अहले सुन्नत प्राथमिक विद्यालय, मदरसा नुरुल हुदा आधारभुत विद्यालय, शहीद बहुमुखी क्याम्पसको शैक्षिक अवस्थाबारे जानकारी लिएका छन् । यस्तै उनले कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र, जनहित बौद्धविहार, गलमादी खोलाको कटान क्षेत्र लगायतको पनि अवलोकन गरे ।

सांसद रानाले अवलोकनपछि रामपुरमा उत्पादन भएको जनशक्ति विश्व समुदायमा प्रतिष्पर्धा गर्न सक्ने हुनुपर्ने बताउँदै शैक्षिक विकास गरी बाहिरका विद्यार्थी रामपुरमा पढ्न आउने वातावरण सिर्जना गर्ने दिशामा सबैले ध्यान दिनुुपर्ने बताए ।

मदरसा नुरुल हुदा अहले सुन्नत प्राथमिक विद्यालयका प्रधानाध्यापक नागेन्द्र काफ्ले, मदरसा नुरुल हुदा आधारभुत विद्यालयका प्रधानाध्यापक अबदुल कलाम मियाँ, शहीद बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराई, प्राध्यापक अशोक ढुंगाना लगायतले शैक्षिक क्षेत्रको आवश्यकताबारे प्रदेश सभा सदस्य रानालाई अवगत गराएका थिए । सांसद रानाले रामपुर ४ को गलमादीखोलाले कटान गरेको क्षेत्रको पनि अवलोकन गरी तटबन्ध निर्माणका लागि प्रदेश सरकार समक्ष पहल गर्ने बताए । रामपुर ४ देविस्थानमा रहेको जनहित बौद्धविहारमा रानालाई स्वागत गरिएको थियो । विहारका अध्यक्ष कृष्णबहादुर आलेको अध्यक्षतामा एक कार्यक्रम गरी उनलाई स्वागत गरिएको हो । रानाले प्रदेश सरकारको सहयोगमा बनेको भान्छाघरको अवलोकन गर्दै यसलाई बृहत्तर रुपमा अगाडि बढाउनुपर्ने बताए ।

यसैगरी कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रले पनि रानालाई स्वागत गरेको छ । केन्द्रका अध्यक्ष भिमविश्व भट्टराई, उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई,सचिव कृष्ण पौडेल लगायतले रानालाई स्वागत गरे । सांसद रानासँगै नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनराज मगर, पाल्पा क्षेत्र नं १(क) का नेपाली काँग्रेसका सभापति रामबहादुर राना, नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुशीला रेग्मी लगायतले अवलोकन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update