Shittalpati
महिला जनप्रतिनिधि जिम्मेवारीप्रति सचेत हुँदै

वालिङ, स्याङ्जाको वालिङ–१ की दलित महिला सदस्य सीता विक निर्वाचित हुँदा आफ्नो भूमिका र जिम्मेवारीका बारेमा अलपत्र थिइन । २०७४ मा स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यका रुपमा वडामा विजयी भए पनि उनलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति पूर्णरुपमा जानकारी थिएन । जनप्रतिनिधि भएर नेतृत्व लिइसकेपछि वडाका नागरिकका काम गर्नका लागि पर्याप्त जानकारी नहुँदा अन्योलता थियो ।

विक निर्वाचित भएर आईसकेपछि निर्वाचित महिला जनप्रतिनिधिको भूमिका, जिम्मेवारी तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षणमा सहभागी भईन् । ‘जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका बारेमा पूर्ण ज्ञान थिएन’, उनले भनिन्,‘जब महिला जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसम्बन्धी प्रशिक्षणमा सहभागी भई ज्ञान पाएपछि निकै सहज भएको छ ।’ विसं २०७९ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पुनःविजयी भएकी विकमा अहिले आत्मबल बढेको छ । ‘कुन विषय कहाँ उठाउने, कसरी उठाउने, योजना कसरी माग गर्ने, योजना निर्माण, बजेट निर्माण, कार्यान्वयन, फरफारक गर्ने प्रक्रियाका बारेमा जानकारी छ’, विकले भनिन् । जनप्रतिनिधिलाई आफ्नो भूमिका र जिम्मेवारीका बारेमा ज्ञान दिने र सचेत गराउने उद्देश्यले ‘मेण्टरिङ’ प्रशिक्षण दिन थालिएको छ । महिला जनप्रतिनिधिलाई सक्षम बनाउने तथा उनीहरुको काम कर्तब्य र अधिकारकाबारेमा सुसूचित गराउने उद्देश्यले क्षमता विकास कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकाको सहकार्यमा प्रशिक्षण सञ्चालन गरेपछि अहिले यहाँका महिला जनप्रतिनिधि सचेत हुँदै गएका छन् ।

द एशिया फाउण्डेशन, अष्ट्रेलियन राजदूतावासको स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहयोगमा दलित महिला केन्द्र नेपालमार्फत यहाँका महिला जनप्रतिनिधिलाई ‘मेण्टरिङ’सम्बन्धी प्रशिक्षण दिइएको दलित महिला केन्द्र नेपालकी स्याङ्जा संयोजक राधा नेपालीले बताइन् । ‘महिला जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारी, भूमिका, काम, कर्तव्य र अधिकारका बारेमा सचेत गराउँछौँ’, उनले भनिन्, ‘काम गर्ने सिलसिलामा आइपरेका समस्याका बारेमा नियमित प्रशिक्षणमार्फत आफ्नो जिम्मेवारी र भूमिका स्पष्ट पार्छौँ । जसले गर्दा कार्यसम्पादनमा सहजता हुँदै आएको छ ।’ दुई वर्षमा तीन जना दलित महिला सदस्यलाई मेण्टरिङसम्बन्धी प्रशिक्षण दिइएको थियो । यसपटक १४ वडाका २८ जना महिला जनप्रतिनिधिलाई सामूहिक प्रशिक्षण दिइएको द एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले बताए । ‘महिला जनप्रतिनिधिलाई आफ्नो भूमिका र जिम्मेवारी बोध नहुन सक्छ वा आफ्ना कुरा सहजै राख्न सक्दैनन् । उनीहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारका बारेमा सचेत गराउँदै प्रभावकारी उपस्थितिका लागि ‘मेण्टरिङ’सम्बन्धी प्रशिक्षण दिइँदै आएका छौँ’, उनले भने । महिला जनप्रतिनिधि उपस्थितिका लागि मात्रै नभई आफ्ना कुरा निर्धक्क राख्नसक्ने बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने ‘मेण्टरिङ’ गर्दै आउका वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुखदिलीपप्रताप खाँणले दाबी गरे ।  –रासस

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update