Shittalpati
तानसेन नगरपालिका र बुटवल उपमहानगरपालिकाबिच अन्तरसंवाद

पाल्पा, जिल्लाको तानसेन नगरपालिका र बुटवल उप महानगरपालिका बिच अन्तरसंवाद भएको छ । शुक्रबार तानसेनमा तानसेन
नगर सरकार र बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बिच अन्तरसंवाद भएको हो । कार्यक्रममा उनीहरुले आ–आफ्ना पालिकाहरुले गरेका गतिविधि, भोग्नुु परेका समस्या र अनुुभव एक आपसमा राखेका थिए ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरको विकासमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने बताएका छन् । उनले स्थानीय सरकार एक्लैले मात्र विकास र समृद्धि हासिल गर्न नसकिने भन्दै उपमहानगरसँग सहकार्य गर्न आफुहरु तयार रहेको धारणा व्यक्त गरे । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले तानसेनसँग सांस्कृतिक, सभ्यता, परातात्विक सम्बन्ध मात्र नभई व्यक्तिगत आत्मियता समेत रहेको बताए । उनले भने,‘तानसेन र बुटवलको विकास उत्तिकै हुनुपर्छ भन्ने हामी चाहन्छौं, तानसेनको विकास हुनु भनेकै बुटवलको विकास हुनु हो, बुटवलको विकास हुनु भनेकै तानसेनको विकास हुनुहो ।’ हरेक पक्षबाट तानसेन र बुटवलको विकास एक आपसमा सम्बन्धित रहेको भन्दै नगर प्रमुख पाण्डेयले तानसेनको विकासमा सँगै सहकार्य गर्नु पर्ने बताए । तानसेनको विकास हुँदा बुटवलको समेत विकास हुने उनले धारणा व्यक्त गरे । कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली, बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याल, तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली लगायतले दुई स्थानीय सरकारबिच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update