Shittalpati
पाल्पाबाटै लाइसेन्स नविकरण सेवा सुरू

पाल्पा, पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ४ गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

पहिलो दिन एक जनाले सेवा लिएका छन् भने दोस्रो दिन शुक्रबार ६ जनाले सेवा लिइसकेको कार्यालय प्रमुख केशव सुनारले जानकारी दिए । उनले भने ‘आवश्यक कागजात लिएर आउने सेवाग्राहीहरुलाई सहजै सेवा दिएका छौं ।’ जिल्लाबाटै नविकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्स नविकरण गर्न बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरु समेत उत्साहित भएका छन् । अहिले दैनिक १५–२० जनासम्मलाई सेवा दिन सकिने गरी व्यवस्थापन मिलाइएको कार्यलय प्रमुख सुनारले बताए । तानसेन नगरपालिका–बर्तुङ्ग देवकोटाचोकमा रहेको कार्यालयबाट सेवा प्रवाह भइरहेको छ ।

नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने जनाइएको छ । पाल्पामा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) को समेत निर्माण भएको छ । यातायात व्यवस्था सेवा कार्यालयले तानसेन नगरपालिका ७, ठाँटी क्षेत्रमा ट्रायल सेन्टर निर्माण गरेको हो । यातायात व्यवस्था विभागको स्विकृती पछि ट्रायल सेन्टरको सेवा समेत सञ्चालनमा ल्याइने यातायात व्यवस्था कार्यालय पाल्पाका प्रमुख सुनारले बताए । सेन्टरको २०७८ चैतमा लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेँगाले शिलान्यास गरेकी थिइन् । ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update