Shittalpati
पुराना दल : सच्चिने कि सक्किने ?

वैशाख १० गते सम्पन्न उपनिर्वाचनले एक गतिलो सन्देश दिएको छ । यस निर्वाचनले पुराना दल भनिएकाहरुलाई नयाँ दलले नराम्रासँग झड्का दिएका छन् । लामो इतिहास बोकेका दलहरुले विगतमा गरेको कामलाई मूल्याङ्कन गर्दै जनताले मतदानको माध्यमबाटै पुराना दललाई ठूलो सजाए दिएका छन् ।

जनताको मनोभावना माथि लामो समयदेखि खेलबाड गर्दै आएका दललाई जनताले निर्वाचनमार्फत पाठ मात्र सिकाएका छैनन् अब पनि नसच्चिने हो भने आउँदो चुनावमा पुराना दलहरुको इतिहास पानामा मात्रै सीमित नहोलान् भन्न सकिँदैन । उपनिर्वाचनमा चितवन–२ र तनहुँ–१ मा पुराना दल भनिएका काँग्रेस, एमाले माओवादीका उम्मेदवारलाई नयाँ दलको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्लेले नराम्रोसँग पराजित गरेका छन् । बारा–२ मा पनि काँंग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपासहितको समर्थनमा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई एक्लै प्रतिस्पर्धामा रहेको जनमत पार्टीले कडा टक्कर दियो । यसले लामो आन्दोलन, भूमिगत र जेल जीवनका कथा दोहोर्‍याउने पुराना पुस्ताको नेतृत्वमा रहेका दलको सट्टा युवा पुस्ताको नेतृत्वमा रहेका दलप्रति मतदाताको आकर्षण देखिएको प्रष्ट हुन्छ ।

मुलुकमा भएका ठूला–ठूला परिवर्तनमा सहभागी भएका दलहरुको यो हबिगत हुनुमा को दोषी हुन् ? अब विश्लेषण गर्ने बेला आइसकेको छ । इतिहास जित्नेको लेखिन्छ, हार्नेको होइन । यी परम्परावादी दलहरुलाई हार्ने छुट छैन तर उनीहरुको काम गराइको अवस्था हेर्ने हो भने जित्ने अवस्था देखिँदैन । आफूले आफैलाई सच्याएर लैजानुको विकल्प पनि छैन । यस अघि भएको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा देखाएका परिणामका प्रवृत्तिलाई हेरेर पुराना दलहरू सुध्रिएलान् भन्ने थियो । आफ्ना उम्मेदवार छनोट र निर्वाचन व्यवस्थापनमा विशेष ध्यान देलान् भन्ने आमअपेक्षा थियो । तर जनताको त्यो भावनाको कदर गर्न यी दलहरूले आवश्यक ठानेनन् र चुके । जसका लागि उपनिर्वाचनको परिणामले संकेत गरेको छ । आगामी दिनमा दलहरुले जनताको मन जित्ने काम गरेनन् भने उनीहरुको अवस्था कहाँ पुग्छ कल्पनै गर्न सकिदैन । यसर्थ पुराना दलहरुमा दुुई विकल्प मात्र रहेका छन्, अब सच्चिने कि सक्किने ?

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update