Shittalpati
एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित

पाल्पा, पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार भएको अंग्रेजी विषयमा २४ जना छात्रा र ४१ जना छात्र अनुपस्थित भएका हुन् ।

४ हजार ५ सय ४६ विद्यार्थी मध्ये ६५ जना विद्यार्थी परीक्षा दिन नआएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख महेन्द्र सुुवेदीले बताए । उनका अनुसार नियमित साधारणतर्फ ४४, नियमित प्राविधिकतर्फ १ र ग्रेडवृद्धितर्फ २० जना परीक्षार्थी अनुपस्थित भएका हुन् । पहिलो दिनको परीक्षा शान्त र मर्यादित ढंगले सम्पन्न भएको प्रमुख सुवेदीले बताए ।

यहाँ परीक्षामा २७ केन्द्र निर्धारण गरिएको छ भने उक्त केन्द्रका लागि २७ जना केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष, २ सय २६ निरीक्षक, ४६ जना परीक्षा सहायक, ९१ जना विद्यालय सहयोगी र १ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पहिलो दिन अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा भएको थियो । चैत १९ गते अनिवार्य गणितको परीक्षा हुुने छ । यस पटक जिल्लाका २० संस्थागत र १ सय १७ सामुदायिक विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् । दुई जना विद्यार्थीले भने कारागारबाट परीक्षा दिएका छन् ।

जिल्लामा सबै भन्दा कम ६८ जना दर्लमडाँडा मावि दर्लमडाँडा केन्द्र र सबै भन्दा बढी २ सय ८६ दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी छन् । परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत समेत बनाइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update