Shittalpati
आजदेखि एसईई परीक्षा, पाल्पाबाट ४ हजार ५ सय ४६ विद्यार्थी सहभागी हुँदै

रामचन्द्र रायमाझी
पाल्पा, २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा पाल्पाबाट ४ हजार ५ सय ४६ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ हजार २ सय ५७ र छात्र २ हजार २ सय ८९ रहेका छन् । देशभरबाट भने पाँच लाख १६ हजार ५ सय ७७ जना विद्यार्थी सहभागी हुने परीक्षा बोर्डले जनाएको छ ।

पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदै छ । परीक्षा तालिका अनुसार आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । वेदविद्याश्रमतर्फ भने अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ ।

चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । अनिवार्य विज्ञान विषयको नतिजा उकास्न यस पटकदेखि भने एक दिन बिदा दिइएको छ । चैत २१ गते बिदा दिएर चैत २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिने भएको छ । एसईईमा सबैभन्दा कमजोर नतिजा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयको रहने गरेको छ । त्यसबाहेक अनिवार्य नेपाली र सामाजिक शिक्षाको नतिजा पनि कमजोर नै मानिन्छ । अंग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याइ राष्ट्रिय परीक्षा बोर्डको छ ।

पाल्पामा परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका ईकाइका प्रमुख महेन्द्र सुवेदीले बताए । उनका अनुसार १ सय ३७ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन लागेका छन् । परीक्षाको लागि २७ वटा केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रका लागि २७ जना केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष, २ सय २६ निरीक्षक, ४६ जना परीक्षा सहायक, ९१ जना विद्यालय सहयोगी र १ सय ३५ जना सुरक्षाकर्मी सम्बन्धित ठाउँमा खटाइएको ईकाइ प्रमुख सुवेदीले बताए । यस पटक जिल्लाका २० संस्थागत र १ सय १७ सामुदायिक विद्यालयका विद्यार्थीहरुले परीक्षा दिदैं छन् । इकाई प्रमुख सुवेदीका अनुसार यसपटक जनता मावि (जेभिटी)का दुई जना विद्यार्थीले कारागारबाट परीक्षा दिदै छन् । परीक्षामा नियमिततर्फ ४ हजार ४ सय ३२ र ग्रेड बृद्धितर्फ १ सय १४ जना विद्यार्थी रहेका छन् । प्राविधक धारतर्फ २ सय ३९ जना विद्यार्थीहरु सहभागी हुँदै छन् । जहाँ बालि विज्ञान, पशुविज्ञान, सिभिल इन्जिनियरि·, इलेक्ट्रोनिक इन्जिनियरिका विषयमा विद्यार्थीले परीक्षा दिने छन् । जिल्लामा सबै भन्दा कम ६८ जना दर्लमडाँडा मावि दर्लमडाँडा केन्द्र र सबै भन्दा बढी २ सय ८६ दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको परीक्षामा दर्लमडाँडा मावि दर्लमडाँडा केन्द्रबाट ६५ जना र दरैठाँटी मावि रामपुर केन्द्रबाट ३ सय ९० परीक्षार्थी सहभागी भएका थिए । परीक्षालाई सभ्य एवं भव्य बनाउन परीक्षा समन्वय समितिले सबैलाई आग्रह गरेको छ । उसले परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत समेत बनाएको छ । दृष्टिविहीन विद्यार्थीले आफू अध्ययन गरेकै विद्यालयबाट एसईईमा सम्मिलित हुन पाउने भएका छन् । त्यस्ता विद्यार्थीलाई सहज होस् भनेर अध्ययन गरेकै विद्यालयलाई उपकेन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update