Shittalpati
पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो

रामचन्द्र रायमाझी
पाल्पा, चैत १७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले केन्द्राध्यक्षको नियुक्ति, अभिमुुखीकरणदेखि प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्‍याउने काम सकेको छ । शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख महेन्द्र सुुवेदीले एसइईको सबै तयारी पुरा भएको बताए । उनले भने ‘परीक्षा केन्द्र, केन्द्राध्यक्ष तोक्नेदेखि उनीहरुलाई अभिमुुखीकरण गर्ने प्रश्न पत्र, उत्तरपुस्तिका सम्बन्धित स्थानमा पुर्‍याउने काम सकिएको छ ।’

एक/दुुई ठाउँका प्रश्न पत्र भने ईलाका प्रहरी कार्यालयमा पठाइएको र अन्य ठाउँमा भने आइतबारसम्म पुुगेको प्रमुख सुवेदीले बताए । उनले भने,‘हामीले आइतबार सबै केन्द्राध्यक्षहरुलाई अभिमुुखीकरण तालिम दिई परीक्षाका लागि चाहिने आवश्यक सामग्री जिम्मा लगाएर सम्बन्धित केन्द्रमा पठाई सकेका छौं ।’ परीक्षाको लागि २७ वटा केन्द्र निर्धारण गरिएको इकाई प्रमुख सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त केन्द्रका लागि २७ जना केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष, २ सय २६ निरीक्षक, ४६ जना परीक्षा सहायक, ९१ जना विद्यालय सहयोगी र १ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । यो वर्ष १ सय ३७ विद्यालयका ४ हजार ५ सय ४६ जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेको शिक्षा विकास तथा समन्वय ईकाइले जनाएको छ । जसमा छात्रा २ हजार २ सय ५७ र छात्र २ हजार २ सय ८९ रहेका छन् । जिल्लाका २० संस्थागत र १ सय १७ सामुुदायिक विद्यालयका विद्यार्थीहरुले परीक्षा दिदैं छन् ।

इकाई प्रमुख सुुवेदीका अनुसार यसपटक जनता मावि (जेभिटी)का दुई जना विद्यार्थीले कारागारबाट समेत परीक्षा दिदै छन् । परीक्षामा नियमिततर्फ ४ हजार ४ सय ३२ र ग्रेड बृद्धितर्फ १ सय १४ जना विद्यार्थी रहेका छन् । प्राविधक धारतर्फ २ सय ३९ जना विद्यार्थीहरु सहभागी हुँदै छन् । जहाँ बालि विज्ञान, पशुुविज्ञान, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक इन्जिनियरिका विषयमा विद्यार्थीले परीक्षा दिने छन् । जिल्लामा सबै भन्दा कम ६८ जना दर्लमडाँडा मावि दर्लमडाँडा केन्द्र र सबै भन्दा बढी २ सय ८६ दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् । हरेक जिल्लाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक शान्ति सुरक्षा परीक्षा सञ्चालन व्यवस्थापन अनुगमन गर्ने काम गर्नेछ । परीक्षालाई सभ्य एवं भव्य बनाउन परीक्षा समन्वय समितिले सबैलाई आग्रह गरेको छ । उसले परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत समेत बनाएको छ । परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने छ । परीक्षा तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update