Shittalpati
१४ वर्षपछि स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै चुनाव

रामचन्द्र रायमाझी
पाल्पा, १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालयसहित देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको हो । २०७३ सालमा २६ वटा आंगिक क्याम्पसमा भए पनि २०६५ यता अधिकांश क्याम्पसमा नियमित चुनाव हुन सकेको थिएन् । आज भएको चुनावमा पनि विवादका कारण केही ठाउँहरुमा हुन सकेन भने केही ठाउँहरुमा निर्विरोध त केहीमा चुनाव भएको छ ।

पाल्पाका चारमध्ये दुई क्याम्पसमा निर्विरोध भएको छ । यहाँका पूर्वखोलाको उद्बुद्ध कलेज र दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा निर्विरोध भएको हो । उद्बुद्धमा एमाले निकट अनेरास्ववियुको एकल प्यानल निर्विरोध भएको छ । यहाँ सभापतिमा केशव पंगेनी, उपसभापति कमल बस्याल, सचिव कृष्णा झापुर्लक, सहायक सचिव बिनिता कामु निर्विरोध भएका छन् । सदस्यहरु सरिता नेपाली, रुपा घर्ती, हेमा हिस्की, विष्णु आचार्य, संगीता आचार्य, नेत्रबहादुर पल्ली रहेको निर्वाचन समितिले जनाएको छ । दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियुका सरोज अधिकारीको नेतृत्वमा समिति निर्विरोध भएको छ । यहाँ नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुसमेत समितिमा चयन भएका छन् ।

यस्तै रामपुरको सहिद बहुमुखी क्याम्पसमा भने निर्वाचन भएको छ । यहाँ नेविसंघ र अनेरास्ववियुबिच मुुख्य प्रतिस्पर्धा भएको हो । निर्वाचनमा ८२.८६ प्रतिशत विद्यार्थीले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । यहाँ ७ सय ८२ मतदाता मध्ये ५ सय १६ छात्रा र १ सय ३२ छात्र गरी ६ सय ४८ जनाले मतदान गरेका हुन् । यो समाचार तयार पार्दासम्म मत परिणाम भने सार्वजनिक भएको छैन् ।

त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा भने निर्वाचन प्रभावित भएको छ । एमाले निकट अनेरास्ववियुले निर्वाचन कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा मनोनयनका दिन फागुन २७ गते तालाबन्दी गरेपछि निर्वाचन कार्यक्रम प्रभावित भएको हो । क्याम्पस प्रमुख टंक भट्टराईका अनुसार अबेरसम्म क्याम्पसमा विद्यार्थी संगठनबीच सहमतिको प्रयास जारी छ । यहाँ सात विद्यार्थी संगठन र असंलग्न विद्यार्थी संगठनबीच सहमतिका लागि छलफल भइरहेको छ । विद्यार्थी संगठनहरु पदको भागबण्डा गरेर स्ववियु गठन गर्ने प्रयासमा छन् । यो समाचार तयार पार्दासम्म भागबण्डमै सहमति नजिक पुगेको नेविसंघका कार्यवाहक इकाई सभापति पुण्य सुवेदीले बताए । नेकपा एकीकृत समाजवादी संगठनले पद भागबण्डामा चित्त नबुझाएपछि केही दिनयता दैनिकजसो छलफल चलिरहेको हो । अनेरास्ववियुका मागका सम्बन्धमा क्याम्पस प्रशासनले छलफल गरे पनि निष्कर्ष निस्कन नसकेपछि तालाबन्दी खुलेको छैन् । अनेरास्ववियुले हार्ने निश्चित भएपछि तालाबन्दी गरेको अन्य संगठनको आरोप छ ।

गुल्मीका तीन क्याम्पसमा मात्रै चुनाव
गुल्मीमा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको छ । जिल्लाका ७ क्याम्पसमा भने निर्विरोध भएको छ । बाँकी तीन क्याम्पसमा मात्रै चुनाव भएको हो भने एउटामा भएन् । यहाँको रेसुङ्गा बहुमुखी क्याम्पस, श्रीङ्गेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन भएको हो । दिगाम आर्दश बहुमुखी क्याम्पसमा भने निर्वाचन भएनन् । रेसङ्गामा ७ सय ६३ मतदाता रहेकोमा ६ सय ७१ मत खसेको छ ।

जिल्लाका मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती, रिडी बहुमुखी क्याम्पस रिडी, जनज्योति बहुमुखी क्याम्पस पुर्कोट, धुर्कोट परमानन्द बहुमुखी क्याम्पस धुर्कोटमा निर्विरोध भएको सम्बन्धित क्याम्पसका निर्वाचन समितिले जनाएका छन् । मानका टिकाराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश खरेल, चन्द्रकोट बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) बाट प्रभा गौतम, सत्यवती बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट अस्मिता भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै रिडी बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट गंगा कुँवर, रुरु संस्कृत विद्यापीठको स्ववियु सभापतिमा नेविसंघबाट नारायण पन्थी निर्विरोध निर्वाचित भएका हुन् । धुर्कोट परमानन्द बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)बाट इन्द्र पोखरेल, जनज्योति बहुमुखी क्याम्पस पुर्कोटको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)बाट जीवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । यी क्यामपसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) मिलेर उम्मेदवारी दिएका थिए । निर्वाचन भएका तीन क्याम्पसहरुको नतिजा भने यो समाचार तयार पर्दासम्म सार्वजनिक भएको छैन् ।

त्रिविमा २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ । त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति, उपसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने छन् तर २०७३ सालमा उपत्यकामा नौवटा र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको थिएन् । विसं २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो । स्ववियुको कार्य समितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिनसम्म २८ वर्ष उमेर ननाघेको हुनुपर्ने प्रावधान रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update