Shittalpati
स्थानीय सरकारले गरे महिलालाई सम्मान

पाल्पा, जिल्लाका केही स्थानीय सरकारले महिलालाई सम्मान गरेका छन् । ११३ औं नारी दिवसको अवसरमा यहाँका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरुलाई सम्मान गरेका हुन् । रामपुर नगरपालिकाले नगर भित्र उद्यमी बनेका महिला तथा समूूहहरुलाई सम्मान गरेको छ । उसले उत्कृष्ट महिला उद्यमी, समूह, कलाकार तथा पत्रकार गरी ५० भन्दा बढी महिलाहरुलाई सम्मान गरेको हो ।

निस्दी गाउँपालिकाले भने स्नातकोत्तर तह उत्र्तीण गरेका महिलालाई सम्मान गरेको छ । उसले पनि दिवसकै अवसरमा पालिकाभित्रका स्नातकोत्तर तह उत्र्तीण दश जना महिलालाई सम्मान गरेको हो । नगद पाँच हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ । रामपुरमा महिलाहरुलाई सम्मान गर्दै नेपाली काँग्रेसकी महिला नेतृ विष्णुमाया ढकालले स्थानीय सरकारले महिलाप्रति देखाएको सम्मान र सद्भाव प्रशंसनिय रहेको बताइन् । उनले महिलाहरु आर्थिक र शैक्षिक रुपले सफल हुनुपर्नेमा जोड दिइन् । महिला हक अधिकार र समृद्धिका लागि शैक्षिक र आर्थिक रुपमा सबल हुन उनले सबै महिलाहरुलाई आग्रह समेत गरिन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले महिला हक अधिकारका लागि मात्र नभई देशको हरेक आन्दोलन सफल पार्न महिलाहरुको उल्लेखनीय भूमिका रहेको बताए । तिनै आन्दोलनबाट प्राप्त उपलब्धिले संघीय लोकतान्त्रिक व्यवस्था जारी भएको स्मरण गर्दै नगर प्रमुख थापाले महिलाको योगदान भुल्न नहुने बताए । नगर उपप्रमुख बालकुमारी थापाले महिलाहरु राज्यका हरेक निकायमा आरक्षण कोटामा मात्र सिमित नभई खुल्ला प्रतिस्पर्धाबाट अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरिन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले नगरपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रममा महिलाको पनि समान सहभागिता गराइएको बताए । निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व दयालले पालिकाभित्रका महिलालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न र बीचमै कक्षा छाड्ने दर घटाउन स्नातकोत्तर तह उत्र्तीण महिलालाई सम्मान गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update