Shittalpati
फागु पर्वको मौलिकता संरक्षणमा जोड

पाल्पा, पछिल्लो समय फागु पर्वको मौलिक संकृति हराउँदै जान थालेपछि पाल्पामा त्यसको सरक्षण गर्नुपर्ने आवाज उठेको छ । फागु पर्व होली मनाउने क्रममा विभिन्न विकृति र विसंगतीहरु भित्रिदै जान थालेकाले त्यसको मौलिकता जोगाउनुपर्ने आवाज उठ्न थालेको हो । जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा इन्सेकको पहलमा गठन भएको बेद युवा समूहको आयोजनामा भएको ‘हराउँदो संस्कृति प्रतिको पलाउँदो आशा’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले फागु पर्वको मौलिकता संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले नेपाली मौलिक चाडपर्वहरुको मर्म जीवन्त रहने गरी पर्व मनाउनुपर्ने बताए । उनले फागु पर्वलाई पछिल्लो समय होलीका रुपमा बुझ्न थालिएकाले यसलाई फागु पर्वकै रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सांसद गैरेले पुराना पुस्तामा रहेको फागु संस्कृति र फागु गीत नयाँ पुस्तालाई सिकाउँदै बुझाउँदै फागु पर्व र यो संस्कृतिको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी दर्लामीले फागु पर्व सँगै बगनासकाली भित्र मनाइने विभिन्न चाडपर्वहरुलाई स्थानीय सरकारले स्थानीय पाठ्यक्रममा समेटिएको बताइन् । उनले आगामी दिनमा यहाँ मनाइने पर्व, संस्कार, संस्कृति र धार्मिक साँस्कृतिक पहिचानहरुलाई पालिकाले प्रवद्र्धन गर्दै जाने बताइन् । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले आगामी वर्षदेखि बगनासकालीको फागु संस्कृति संरक्षणका लागि विशेष कार्यक्रम बनाउने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका संयोजक रविन्द्र घिमिरेले बराङ्दीका युवाहरुले बेद युवा समूहमार्फत रचनात्मका कार्यक्रम गर्दै आएको धारणा व्यक्त गरे । प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपानेले पर्व मनाउने शैली समयसापेक्ष परिवर्तन हुँदै गएकाले पर्वको पुरानो महत्वलाई विर्सन नहुनेमा जोड दिए । प्रहरी चौकी भुसलडाँडाका असई अवदेशकुमार यादवले सामाजिक मूल्यमान्यतालाई कायम राख्दै पर्वहरु मनाउनुपर्ने बताए । क्लवका संरक्षक तथा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको अध्यक्षता र बेद युवा समूहका अध्यक्ष बरुण बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update