Shittalpati
‘दैनिक एक घण्टा ध्यान गरौं जीवन सफल हुन्छ’

कृष्ण पोखरेल
पाल्पा, ओशो आश्रम चितवन सौराहाका स्वामी मैत्रेयले दैनिक एक घण्टा ध्यान गरे जीवन सफल हुने बताएका छन् । पाल्पाली ओशो मनले तानसेनको श्रीनगरमा आयोजना गरेको शिविर कार्यक्रममा बोल्दै ओशो स्वामी मैत्रेयले तन, मन र धनको व्यवस्थापन नै ध्यान भएकाले ध्यानबाट नै सबै किसिमको सुख आनन्द प्राप्त हुने भएकाले दैनिक २४ घण्टामा एक घण्टा मात्र ध्यान गरेर जीवनलाई पूर्ण रुपमा सफल बनाउन सकिने बताएका हुन् ।

मानिसले गर्ने हरेक काम गतिविधी सकारात्मक सोचका साथ गरिएमा अवश्य पनि सफल हुनेमा ओशो परिवार विश्वस्त रहेको स्वामी मैत्रेयले बताए । स्वामी मैत्रेयले आवश्यकता भन्दा बढी लोभ गर्दा मानिसले अनावश्यक दुःख पाउनु परेको बताएका छन् । स्वामी मैत्रेयले मानिसले आफ्नो आवश्यकता भन्दा बढी लोभ गरेर छोरा नाती पनातीसम्मलाई पुग्ने गरी अनैतिक तरिकाबाट सम्पत्ती आर्जन गर्ने मनासाय गर्नु नै दुःख निम्ताउनु भएको बताए । प्रकृतिले हरेक प्राणीलाई आवश्यकता अनुसारको व्यवस्था गरेको छ तर मानिसले आवश्यकता भन्दा बढी लुट्न खोज्दा प्राकृतिक सन्तुलन विग्रिदै गएको स्वामी मैत्रेयले शिविरका अनुयायीहरुलाई बताए ।

मानिसले सधै भरी सुख मात्र प्राप्त होस् भन्ने चाहान्छ तर प्रकृतिको नियम अनुसार हरेक सुख पछी अवश्य दुःख आउछ त्यसका लागि मानिस मानसिक रुपमा तयार रहनु पर्छ, आईपरेका दुःखहरुलाई सजिलो किसिमबाट ध्यानले मात्र व्यवस्थापन गर्न सकिने ओशो स्वामी मैत्रेयको दावी छ । उनले भने ‘सुख शरिरले प्राप्ती गर्छ यो बाहिरबाट अनुभुति हुन्छ भने आनन्द भित्री मनबाट प्राप्त हुन्छ, आनन्द प्राप्तीका लागि नै बुद्धले दरवारमा पाएको सुख सयल त्यागेर ध्यानमा लागेका हुन् ।’ मानिसमा बढ्दै गएको तनाव, लोभ, मोह, क्रोध, अनियमिता, भ्रष्टाचार अनैतिकताको विषयमा जनचेतना जगाई मानव जीवनलाई सफल बनाउन प्रशिक्षणले सहयोग पुगोस् भनि तानसेनमा ओशो ध्यान शिविर सञ्चालन गरिएको आशो मन तानसेनका अगुवा ऋषिराम पोखरेलले बताए । आशोका कार्यक्रम तानसेनका विभिन्न स्थानमा नियमित रुपमा हुँदै पनि ओशो ध्यान प्रवचन लामो समय पछी आयोजना गरिएको पोखरेलले बताए । शिविरमा ओशोकी अनामिकाले पनि प्रवचन दिएकी थिईन । ध्यान शिविरमा एक सय भन्दा बढी अनुयायीहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update