Shittalpati
‘भकभके बोली भएकालाई हेला होइन, माया गरौं’

पाल्पा, भकभके बोली भएका व्यक्तिलाई हेला गर्न नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले भकभके बोल्नेहरु पनि अरु सरह नै काम गर्न सक्ने भएकाले हेला गर्न नहुने बताएका छन् । शुक्रबार तानसेनमा नेपाल भकभके संघ काठमाडौं र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित भकभके बोली सम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्ने अधिकासं वक्ताहरुले भकभके बोली बोल्नेहरुलाई हेला होइन सम्मान र माया गर्नुपर्ने बताएका हुन् ।

नेपालमा भकभके बोली भएका व्यक्तिहरुलाई खिस्सी गर्ने, हेला गर्ने, इष्र्या गर्ने गरेको भएता पनि यसलाई माया र आदर गरेर उनीहरुको बोलीमा सुधार गर्न सकिने उनीहरुको भनाई छ । कार्यक्रममा तानसेन नगरपालिकाका कार्यबहाक नगरप्रमुख यादवसिंह कार्कीले भकभके पनि अन्य अपाङ्ग सरह र अन्य नागरिक सरह समाजमा जीवन यापन गर्न पाउनुपर्ने र त्यसका लागि सबैको सहयोग रहनुपर्ने बताए । उनले भकभके वर्गको उत्थानका लागि नगरपालिकाले आगामी दिनमा बजेट विनियोजन गर्ने र उक्त खालको नीति निर्माणमा समेत आफूले ध्यान दिने बताए । यस्तै नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले विद्यालयतह र समुदायमा रहेका भकभकेहरुको वृत्ति विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले शिक्षा क्षेत्रमा रहेका बालबालिकालाई सहि रुपमा शिक्षा दिने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा भकभके संघका केन्द्रीय अध्यक्ष रविन मैनालीले राज्यले अपाहरुलाई हेर्ने दृष्टिकोण नै संकिर्ण रहेको धारणा व्यक्त गरे । उनले भकभकेपना पनि एकखालको अपाङ्ग नै भएकाले राज्यबाट सोको प्रमाणपत्र समेत पाइने र सोही अनुसारको सेवा सुविधा पाउने भएकाले संघमा आवद्ध हुन पाल्पामा रहेका भकभकेहरुलाई आग्रह गरे । संस्थाका महासचिव शंकर प्रसाद गौतमले संस्थाले २००३ सालदेखि भकभके बोली भएका व्यक्तिहरुको हकहितको क्षेत्रमा पैरवी गर्दै आइरहेको बताए । नेपाल राष्ट्रिय शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्णबहादुर थापाले विद्यालय तहमा रहेका भकभके विद्यार्थीहरुको सहि रुपमा पहिचान र उनीहरुको सिकाई सहजीकरणको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरतप्रसाद आचार्य, पाल्पा शिविआर कार्यक्रमका संयोजक कृष्ण गहतराज, समाजसेवी खगराज अधिकारी, शिक्षक शंकर भट्टराई लगायतले भकभकेपना भएका व्यक्तिहरुको पहिचान र संरक्षणमा कार्यक्रमले सहयोग गरेको बताए । कार्यक्रममा तानसेनका सामुदायिक विद्यालयका प्रअ, शिक्षक, कर्मचारी र जनप्रतिनिधि वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा शुक्रबार सरोकारवालासँग अन्तक्र्रिया र शनिबार भकभके बोली भएका बालबालिका तथा व्यक्तिहरुलाई समेत बोली सुधार सम्बन्धी प्रशिक्षण, तालिम तथा शिविर चलाईने छ । नेपाल भकभके संघ अध्यक्ष प्रवेश पन्थीको अध्यक्षता, संघ पाल्पाका पूर्व अध्यक्ष दिनेशकुमार रेग्मीको स्वागत, संघका सदस्य जीवन कार्कीको सञ्चालनमा शुक्रबारको कार्यक्रम
भएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update