Shittalpati
‘शान्ति सुरक्षा मजबुतदेखि नागरिकको गुनासो सम्बोधनसम्म’

हाम्रा संवाददाता
पाल्पा, १७ महिना अघि पाल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर पाल्पा आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले पहिलो पटक ३ कार्तिक २०७८ मा पाल्पाका पत्रकारहरुसँग कुरा गर्दै जिल्लामा शान्ति सुरक्षा मजबूत बनाउने र शुसासन कायम गर्छु भन्दै प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसको ठिक १७ महिना पछि उनको पाल्पा जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भयो । यो अवधिमा प्रजिअ पन्तले आम नगरिकले महसुस गर्ने गरी काम गरेका छन् ।

विषेशगरी उनले आफ्नो कार्यकालमा शान्ति सुरक्षालाई मजबुद बनाउने, अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने, सडक सुरक्षा, सरकारी एवं गैरसरकारी कार्यालयमा सुशासन कायम, कार्यालयबाट प्रवाह हुने सेवामा सहजता ल्याउने काम गरे । उनले स्थानीयतह, प्रदेश र संघको निर्वाचन विवादरहित सम्पन्न गराउन ठूलो भूमिका खेले । पन्तले जिल्लामा रहँदा जनगुनासोको रुपमा आएको चुनढुङ्गा खानी सञ्चालनको अनुगमन, सञ्चालनको प्रक्रिया, उपयोगको बारेमा भईरहेका गतिविधी सार्वजनिक गराएका थिए । त्यति मात्र होइन आम नागरिकको समस्याको रुपमा रहेको स्वास्थ्य बीमाको सहजता, पाल्पा अस्पताल सञ्चालन तथा विरामीहरुका लागि टिकट व्यवस्थापनमा प्रजिअ पन्तले सक्रिय भूमिका खेलेका थिए । जिल्लामा आईपरेका समस्या तथा गुनासाहरुको तत्काल सम्बोधन गर्ने, जिल्लाबाट हुन नसकेका कुराका बारेमा जनतालाई बाटो देखाइदिने काममा प्रजिअ पन्तको सक्रियता रह्यो ।

पाल्पामा विकास तथा सुसाशन कायम गर्न स्थानीय तहदेखि प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधी, नागरिक समाज, कार्यालय प्रमुख, पत्रकार संघ संस्थाको सहभागितामा सामुहिक छलफल गरी जिल्लाको अवस्थाका बारेमा बेला–बेलामा चित्रण गराए । प्रजिअ पन्तले राहादानी समस्या समाधानका लागि विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ३ सिफ्टमा कार्यालय सञ्चालनको व्यवस्था मिलाएका थिए । उनले आफुले कानुनले तोकेको र जनतालाई सजिलो हुने गरी मात्र काम गरेको समेत बताए । उनले बिहीबार एक कार्यक्रमकाबिच पाल्पा बसाईमा रहँदा सहयोग पुर्‍याएका राजनीतिक दल, पत्रकार, विभिन्न संघ संस्थालाई धन्यवाद दिए । आउँदा सबैले स्वागत गरेझै विदाईको समयमा पनि सबै पक्षसँग भेटघाट गरेर जाने चाहाना अनुसार फेरी भेटौला कार्यक्रम गरेको उनले बताए । प्रजिअ पन्तको विदाई कार्यक्रममा सहभागी भएका जनप्रतिनिधि, राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत स्थानीय नागरिकले पाल्पा बसाईको क्रममा प्रमुख जिल्ला अधिकारीले आम नागरिकको पक्षमा काम गरेको खुलेर प्रशंसा गरेका थिए । प्रजिअ पन्तलाई गुल्मेली संगम पाल्पाले समेत विदाई गरेको छ । संगमले एक औपचारिक कार्यक्रमकाबिच उनलाई विदाई गरेको हो । पन्तले पाल्पामा रहँदा संगमलाई अगाडि बढाउन आवश्यक सुझाव सल्लाह दिर्दै आएका थिए । पाल्पामा बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला नयाँ प्रजिअको रुपमा आउने छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update