Shittalpati
दोहाकतारमा रहेका पाल्पालीद्वारा विद्यालयमा अक्षयकोष

पाल्पा, दोहाकतारमा रहेका पाल्पालीहरुले पाल्पाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । रोजगारको शिलसिलामा कतार पुगेकाहरुले संकलन गरेको रकम पाल्पाली सेवा समाज दोहाकतारले जिल्लाको पूर्वखोलामा रहेको उद्बुद्ध उमाविमा अक्षयकोष स्थापना गरिदिएको हो ।

विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि कतारमा रहेका पाल्पालीहरुले अक्षयकोष स्थापना गरिदिएको समाजले जनाएको छ । समाजले एक औपचारिक कार्यक्रमका बिच विद्यालयलाई ५१ हजार रकम हस्तान्तरण गरेको छ । उक्त रकम समाजका सचिव विकास गैरेले पूर्वखोला गाउँपालिका–३ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराई, विद्यालय व्यावस्थापन समितिका निवर्तमान अध्यक्ष निलकण्ठ भट्टराई र विद्यालयका प्रधानाध्यापक पितम्बर न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । रकम ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले प्रवासमा रहेर पनि विद्यालयको शिक्षाप्रति देखाएको सद्भाव र सहयोग प्रसंसनिय रहेको भन्दै समाजलाई धन्यवाद दिए । उनले समाजले स्थापनाको गरेको अक्षयकोष विपन्न र जेहन्दार विद्यार्थीहरुका लागि दिइने बताए । शिक्षामा विपन्न र जेहन्दार विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले कतारमा रहेका पाल्पालीहरुबाट उठाएको रकम अध्यक्षकोषका लागि विद्यालयलाई सहयोग गरिएको समाजका सचिव विकास गैरेले बताए । विदेशमा रहेर आफ्नो डिउटी सकिएपछि बचेको समयलाई सदुपयोग गरी केही रकम जुटाई विपन्न र जेहन्दार विद्यार्थीहरुका लागि सहयोग गर्ने गरिएको गैरेले बताए । पाल्पाका अन्य स्थानीय तहका उत्कृष्ट विद्यालयहरुमा समेत अक्षयकोष स्थापना गर्दै जाने समाजका अध्यक्ष महलबहादुर केसीले बताए । समाजले रोजगारीका सिलसिलामा कतारमा रहेका पाल्पालीहरुसँग सहयोग रकम जुटाई पाल्पालीहरुको दुख–सुखमा सहयोग गर्दैै आएको छ । उसले अक्षयकोष स्थापनासँगै समाजले विभिन्न किसिमका प्रणमघातक बिरामीहरुको उपचारमा सहयोग, रक्तदान, मेडिकल क्याम्पियन जस्ता सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको देखिन्छ ।

समाजले कतारमा जानका लागि प्रक्रियामा झन्झटिलो व्यहोरेका र त्यहाँ पुगेर समस्यामा परेकाहरुको उद्दारमा समेत सहयोगीको भूमिका निर्वाह गर्दै आएको जनाएको छ । कार्यक्रममा विद्यालयका सह–प्रधानध्यापक सुशिल न्यौपाने, शिक्षक अनन्त पाण्डे,ब्लक इन्चार्ज शंकर न्यौपाने, सुदिप खनाल, डिलबहादुर नेपाली, बासुदेव न्यौपाने, पशुपती भट्टराई, झमानसिंह ढेंगा, मनोहर पन्थी, रेशम आचार्य, शालिकराम पंगेनी, अभिभावकहरु तथा विद्यार्थीहरुले समाजले विद्यालय र विद्यार्थी प्रति गरेको सहयोग अनुुकरणीय रहेको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update